महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु

१० चैत्र २०८१/ सल्यान

सल्यानमा महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकाले वडा नम्बर ४ बाट उक्त कार्यक्रम सुरु सुरु गरेको हो ।

सशक्तिकरणको माध्ययमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण र क्षमता अभिवृद्धि गर्न, लैंगिक हिंशा रोकथाम, बाल विवाह, वहुविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि वडास्तरमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले बताएको छ ।

आइतबार गाउँपालिका अन्तर्गत वडा नम्बर ४ को जयचौरमा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सके मात्र समाज समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजमा अझै पनि बाल विवाह, बहुविवाह, घरेलु हिंसा जस्ता समस्याहरू रहेको भन्दै उक्त समस्याको अन्त्य गर्न महिलाहरुलाई कानुनी ज्ञान र आत्मविश्वासको जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागि जनप्रतिनिधी, कर्मचारी, महिला एवम् सरोकारवालाहरुले सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर पनि गर्नुभएको थियो । बालविवाह, वहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो । समुदायमा विद्यालय भन्दा बाहिर रहेका बालकालिकालाई विद्यालय पठाउने पनि सहभागिहरुको प्रतिवद्धता छ ।

वडा अध्यक्ष छविलाल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि महिलाहरुलाई प्रशिक्षकहरुबाट बालबालिकाको शिक्षामा महिला अभिभावको भुमीका, आत्मविश्वास र सीप, क्षमता विकास, बाल विवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा अभिमुखिकरण गरिएको थियो ।

उपाध्यक्षसंग दिदिवहिनि कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाको आयोजना तथा मध्यपश्चिम युवा मिलन केन्द्र सल्यानको सहजिकरणमा महिला सशक्तिकरण अभियान सुरु भएको हो । कार्यक्रममा प्रशिक्षकहरु दिपेन्द्र कुमार शाही, अधिवक्ता अमर थापा, प्रहरी सहायक निरिक्षक प्रकाश परियारले विभिन्न विषयवस्तुमा अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा विक, वडा सदस्य पोखराज खड्का, गाउँपालिका स्थित सचिवालयका स्वकीय खडग शाही लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य शान्ता उपाध्यायले राख्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार शंकर केसीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस