३ चैत्र २०८१/ सल्यान
सल्यानमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै
सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरेन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यालय बाट व्यापारीहरूका लागि घुम्ती शिविर सञ्चालन गरी व्यापार व्यवसाय दर्ता तथा नविकरणमा सहज बनाइएको बताउनु भयो । उहाँले व्यवसायीहरूलाई आवश्यक परामर्श पनि प्रदान गरिँदै आएको र व्यवसायीक हक हितका लागि आवश्यक प्रक्रिया पूरा गर्न पहलकदमी लिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बजार अनुगमनलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो ।पेट्रोलियम पदार्थको अभाव हटाउन गरिएको पहल सफल भएको बताउँदै उहाँले जिल्लाका सबै पालिकामा नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको बताउनु भयो ।
उहाँले यो आर्थिक वर्षको फागुनसम्म ९ पटक वजार अनुगमण गरी एक सय एक वटा व्यापार व्यवसायको अनुगमन गरिएको जानकारी दिँदै उहाँले अनुगमनका क्रममा म्याद नाघेका ४६ हजार ८१६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको जानकारी दिनुभयो ।
स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने नारासहित,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा भएको,कार्यक्रममा उपभोक्ता मञ्चका प्रतिनिधि रामचन्द्र रेग्मीले उपभोग्य वस्तु तथा सेवा, उपभोक्ता अधिकारको सैद्धान्तिक अवधारणा, संवैधानिक, कानुनी, नीतिगत तथा संस्थागत प्रबन्ध, अनुचित व्यापारिक वा व्यवस्थापनजन्य क्रियाकलापलगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थित रहेको थियो भने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुव खत्रीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।