शंखमुल दारिमज्युला जयचौर सडकको कालोपत्रे सुरु

३ चैत्र २०८१/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाको शंखमुल दारिमज्यूला जयचौर सडक कालोपत्रे सुरु गरिएको छ ।

दिर्घकालिन महत्वको रुपमा हेरीएको उक्त सडक २ करोड ८९ लाख ८० हजार ५२९ रुपैयाँ लागतमा कालोपत्रे हुन लागेको हो ।

आइतबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले कालोपत्रे सडकको सिलान्यास गर्नुभएको हो ।छत्रेश्वरी गाउँपालिकाको ५० प्रतिशत र समपुरक अनुदानको ५० प्रतिशत अनुदानमा निर्माण हुन लागेको उक्त सडक खण्डमा चालु आर्थिक वर्षमा करिव २२०० मिटर कालोपत्रे र केही भागमा नाला निर्माण गरिने छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । अप्लाइड इन्जिनियरिंग प्रालि कार्यविनायक ललितपुरले ठेक्का प्रक्रियामा उक्त सडक निर्माणका लागि गाउँपालिकासंग १ करोड ८० लाख ८४ हजार २४६ रुपैयाँमा सम्झौता गरेको हो ।

सिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, भुमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, गाउँपालिका स्थित सचिवालयका स्वकीय खडग शाही, निर्माण व्यवसायी पवित्रमान बोहरा लगाएतको सहभागिता रहेको थियो ।
गत आर्थिक वर्षमा पनि यस सडक खण्डमा नाला संगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाईप तथा ग्याविन जाली, मोड सुधार लगाएतका काम भएको थियो ।

प्रतिक्रिया दिनुहोस