२५ फागुन २०८१/ सल्यान
सल्यानमा नगरपालिका स्तरीय आधारभूत तह वार्षिक परीक्षाका लागि केन्द्राध्यक्षहरूको अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
जिल्लाको शारदा नगरपालिकाले सोमबारबाट सुरु हुने परीक्षाको तयारीका लागी अभिमुखिकरण कार्यशाला सम्पन्न गरेको हो ।
आइतबार भएको कार्यशालामा शारदा नगरपालिका भित्र रहेका ४३ जना केन्द्राध्यक्षहरूलाई परीक्षा मर्यादित, व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्न शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले निर्देश दिनु भयो । नगर शिक्षा समितिका प्रमुख समेत रहनु भएका भण्डारीले,कक्षा ५ र ८ को परीक्षा सुचारु गर्न जिम्मेवार शिक्षकहरूलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको बताउनु भयो ।पालिका भित्रका विद्यालयहरूले कक्षा ५ र ८ को परीक्षासँगै अन्य कक्षाका परीक्षाहरू पनि सञ्चालन गर्ने बताइएको छ ।
नगर प्रमुख भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबाल तथा नगर शिक्षा समिति एवं परीक्षा समिति सदस्यहरूको उपस्थिति रहेको थियो।
चैत्र ५ गतेसम्म सञ्चालन हुने परिक्षामा कक्षा ५ का ७२६ जना र कक्षा ८ का ७६९ जना परीक्षार्थी रहेको शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताउनु भयो ।उहाँ अनुसार कक्षा ५ मा सबैभन्दा बढी परीक्षार्थी मोर्डन तुल्सीमा ७८ जना तथा सबैभन्दा कम जनसेवा आवि पेदीमा २ जना रहेका छन् । त्यस्तै कक्षा ८ मा सबैभन्दा धेरै परीक्षार्थी शिवजनमा १५४ जना र सबैभन्दा कम लक्ष्मी आवि पानीखोलामा ७ जना रहेका छन्।
नगरपालिकाले परीक्षा सुव्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई आवश्यक संयोजन गर्न अनुरोध गरेको छ।