२० फागुन २०८१/ सल्यान
सल्यानको एक स्थानीय तहले किसानहरुलाई व्यवसायीक बाख्रा पालन सम्बन्धि तालीम प्रदान गरेको छ ।

जिल्ला कपुरकोट गाउँपालिकाले ६ वटा वडाका करिब ३३ जना कृषकलाई लाई उक्त तालीम प्रदान गरेको हो ।
गाउँपालिकाको पशुपक्षिं सेवा शाखाले आयोजना गरेको तिन दिने व्यससायी बाख्रापालन तालिमले, परम्परागत रूपमा बाख्रापालन गर्दै आएका अगुवा कृषकलाई व्यवसायिक बाख्रापालनको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेको बताइएको छ । अर्धव्यावसायिक कृषकहरूलाई पूर्णरूपमा व्यावसायिक बनाउन प्रेरित गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा बाख्रापालनको व्यावसायिक महत्व, बाख्रामा लाग्ने महामारी रोगहरू र तिनको नियन्त्रण उपाय, उन्नत जातका बाख्राको छनोट, उचित घाँस तथा दाना व्यवस्थापन, खोर सुधार लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिनेछ ।
प्रत्येक वडाबाट ५ देखि ६ जना व्यावसायिक बाख्रापालक कृषकलाई सहभागी गराइएको यस तालिमले कृषकलाई आधुनिक प्रविधिबाट बाख्रापालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ । हाल कपुरकोट गाउँपालिकामा करिब ३५ देखि ४० हजार बाख्रा पालिएको अनुमान छ । व्यावसायिक तरकारी खेती गर्दै आएका अधिकांश कृषकहरू बाख्रापालन तर्फ पनि आकर्षित भईरहेकोले यस तालिमले उनीहरूको आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता,उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको बिशिस्ट आतिथ्यतामा सुरु भएको तालिमको अध्यक्षता,पशुपक्षिं सेवा शाखाका प्रमुख बिनिता केसीले गर्नु भएको थियो ।