माओवादी केन्द्रको जनता संग माओवादी अभियान संचालन हुँदै

८ फागुन २०८१/ सल्यान

नेकपा (माओवादी केन्द्र) सल्यानले जनतासंग माओवादी अभियान संचालन गर्ने भएको छ ।

 

पार्टी केन्द्रको निर्देशनअनुसार सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा जनवर्गीय संगठनको विस्तारका लगाएत अन्य कार्यक्रमहरुका लागी उक्त अभियान संचालन गरिने भएको हो ।

बुधबार जिल्ला समन्वय समिति सल्यानमा सम्पन्न भएको पार्टीको आठौं पूर्ण बैठकले विकास, समृद्धि, सुशासन र सामाजिक न्याय प्रवर्द्धन गर्दै माओवादी केन्द्रमा जनसमर्थन बढाउने निर्णय गरेको छ ।

जनताका साझा सवाल तथा समस्यामा केन्द्रित रहँदै विकास र सुशासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ६ महिने अभियानको कार्ययोजना पारित गरिएको पार्टीका,जिल्ला संयोजक मानबहादुर मल्लले जानकारी दिनु भयो ।मल्लले बैठकले सल्यान जिल्लाका समसामयिक विषयमा पनि छलफल गरी केही प्रस्तावहरू पारित गरेको बताउनु भएको छ ।बैठकले शारदा नगरपालिका–१२ निवासी, कर्णाली प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य बेलधर खड्काको मंसिर १४ गतेको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै सल्यान महोत्सवमा भएको आगलागी घटनाप्रति दुःख व्यक्त गरेको छ। साथै, उक्त घटनामा गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न तथा पीडितलाई उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

यसैगरी, सल्यान जिल्लामा सवारी दुर्घटना, आत्महत्या, घरेलु हिंसा, महिला हिंसा तथा आगलागीजस्ता घटनाहरू न्यूनीकरण गर्दै नागरिक शान्ति-सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

बैठकमा प्रमुख अतिथि प्रदेश सहइन्चार्ज टेकबहादुर बस्नेत, विशिष्ट अतिथि विशेष प्रदेश सहइन्चार्ज रमेश मल्ल, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला इन्चार्ज कृति बहादुर पुन लगायतका नेताहरूले प्रशिक्षणमूलक मन्तव्य राख्नु भएको थियो ।

मंगलबार र बुधबार दुई दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरू तिलकराज भण्डारी, टीका बुढाथोकी, भीम प्रकाश शर्मा, नेवबहादुर कँवर, टिकाराम वली, तिलक मल्ल, चित्र बहादुर केसी, केन्द्रीय सल्लाहकार उमाकान्त शर्मा, प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकी लगायतका नेताहरूले मन्तव्य राख्नु भएको थियो ।

अघिल्लो दिन प्रदेश कमिटी सदस्यहरूले व्यापक छलफल गरेपछि बुधबार १० वटै पालिका अध्यक्षहरूले रिपोर्टिङ तथा फलोर ओपन सत्रमा सुझाव राखेका थिए। बैठकपछि नयाँ उत्साह सिर्जना भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस