५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

५ फागुन २०८१/ सल्यान

सल्यानको त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ ।

गाउँपालिका भित्र रहेका विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
गाउँपालिकाले कम्बाइन मिल, कुटानी पिसानी मिल, डीप फ्रीज ,मिनिटिलर, डिजिटल तौल मेशिन, कुखुराको प्वाँख खुइलाउने मेशिन, च्याप कटरआदी कृषि मेसिनरी औजार वितरण गरिएको छ । कृषकहरूको माग र आवश्यकताको आधारमा गाउँपालिकाको सबै वडा मा मेसिनरी औजार वितरण गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाको कृषि शाखामार्फत पालिका–स्तरीय कृषि विकास समिति गठन गरी छनोट गरिएको १२ वटा समूह तथा सहकारीलाई ११ वटा मिनी टिलर र ६ वटा कम्बाइन मिल वितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबालले जानकारी दिनुभयो।
त्यस्तै, पशु शाखाको वार्षिक पशु विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा २ वटा डीप फ्रीज, २ वटा दाना पिस्ने मिल, ३ वटा डिजिटल तौल मेशिन, १ वटा फलामको टोकरी, ३ वटा दाना पिस्ने मेशिन,१ वटा कुखुराको प्वाँख खुइलाउने मेशिन,१ वटा च्याप कटरआदी उपकरणहरू वितरण गरिएको पशु शाखा प्रमुख बसन्त रावतले बताउनुभयोः
गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले तरकारी फलफुल खेती र पशुपालन क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर गराउने प्रमुख उद्देश्य रहेको बताउनुभयो । उहाँले कृषकहरूलाई व्यावसायिक बनाई कृषि उत्पादन बढाउन नयाँ कृषि मेसिनरी औजार वितरण गरिएको भन्दै उहाँले वितरण गरिएका कृषि सामग्रीहरूको माध्यमबाट कृषकलाई निकै सहज हुने र उत्पादनमा समेत वृद्धि आउने अपेक्षा लिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस