आधारभुत शिक्षालाई सुदृढ गर्न सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम

२४ माघ २०८१/सल्यान

सल्यानमा आधारभुत शिक्षालाई सुदृढ गर्न र कक्षा कोठामा पछाडी पर्ने विद्यार्थीलाई अगाडी बढाउन सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम प्रभावकारी मानिएको छ ।

जिल्लाको दार्मा गाउँपालिका, छत्रेश्वरी गाउँपालिका तथा श्रोत कक्षामा यो कार्यक्रम संचालन गरिएको छ । छत्रेश्वरी गाउँपालिकाका ९० वटा कक्षामा विद्यार्थीहरूको वास्तविक सिकाइ स्तर पहिचान गरी तिनीहरूको आवश्यकता अनुसार शिक्षण विधि अपनाएर शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सिकाइ स्तरमा आधारित शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का विभिन्न विद्यालयमा संयुक्त अनुगमन समेत सम्पन्न भएको छ । बुधबार वडा नं ४ स्थित खड्गनाथ आधारभुत विद्यालय झंखानी, सिद्धेश्वरी आधारभुत विद्यालय चौरपाटा र लक्ष्मी मावि जयचौरमा अनुगमन गरिएको हो ।

विद्यार्थीको क्षमता अनुसार समूह विभाजन गरी व्यक्तिगत आवश्यकता अनुसार पठनपाठन गर्न मद्दत पुर्याइरहेको पाइएको हो । लक्ष्मी माध्यमिक विद्यालय जयचौरका नेपाली विषयका शिक्षक दिपा कुमारी शर्माले सिकाइ स्तरमा आधारित शिक्षण विधिबाट प्रत्येक विद्यार्थीलाई स्तरअनुसार सिक्न दिइने भएकाले गर्दा उनीहरूलाई सहज हुनेगरेको बताउनु भयो ।

अन्य विद्यालयका शिक्षकहरुका अनुसार यो विधिले विशेष गरी गणित र नेपाली भाषा सिकाइमा धेरै सुधार ल्याएको छ । विद्यार्थीहरू अहिले कक्षामा बढी खुलेर बोल्न र सिकाइ प्रक्रियामा रमाउने गरेका छन् । छत्रेश्वरी गाउँपालिकाको समन्वय तथा स्ट्रिट चाइल्डको प्राविधिक सहयोगमा आसमान नेपाल मार्फत गाउापालिकाका ३६ वटा सामुदायीक विद्यालयका कक्षा ३, ४ र ५ संचालन भएका ९० कक्षामा विद्यार्थीको वास्तविक सिकाइ स्तर अनुसार पढाइ हुनेगरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशर वलीले जनाउनु भएको छ ।

विद्यालयमा कक्षा कोठाको अनुगमन पश्चात गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले सिकाइ स्तर सुधार भइहेको छ वा छैन भनेर नियमित मूल्यांकन प्रणाली अपनाउनुपर्ने सुझाव दिनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी लगाएतले विद्यार्थीको सिकाइ सुधार गर्न अभिभावकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावकको संलग्नता बढाउनुपर्ने र सिकाइमा सुधार गरेका विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रम संचालन गर्नका लागि सुझाव प्रदान गरेका थिए ।

परम्परागत कक्षाको सट्टा विद्यार्थीको सीप र क्षमताका आधारमा सिकाइ प्रक्रिया अपनाइने भएकाले विद्यार्थीमा सिकाइको गति सुधार देखिएको आसमान नेपालका लक्ष्मण थापाले जनाउनु भयो । अनुगमन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक, पत्रकार तथा आसमान नेपालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । यस कार्यक्रम अन्तर्गक कक्षा ३ देखि ५ सम्म पढ्ने वालवालिकाको गणित र नेपाली विषयमा कमजोर भएका विद्यार्थीलाइ सिकाइ स्तरमा आधारित शिक्षण विधिमा आधारित रही शिक्षण भइरहेको छ । शिक्षण विधि र सिकाइ क्रियाकलाप र उपलब्धीको नियमित मुल्यांकन पनि भइरहेको छ । जस अनुसार प्रारम्भीक मापन, मध्यवती मापन र अन्तीम मापन गरी शिक्षण गर्दा पनि विद्यार्थीको सिकाइ स्तर सुधार नभएमा सिकाइ शिविर संचालन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस