१२ कार्तिक २०८१
सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको मिनीट्रक दुर्घटना भएको हो ।
सोमबार साझ करिब ६ बजेतिर भएको उक्त दुर्घटनामा परी स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको कपुरकाेट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो । मृत्यु हुनेमा सबै बालबालिका रहेका छन् । मृतक दुई जनाको घटना स्थलमै र एकजनाको बाटोमा मृत्यु भएको बताइएकाे छ ।
घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घाइते भएका केहिलाई अहिले उपचारको लागि कपुरकाेट गाउँपालिकाको अस्पतालमा राखिएको र केहिलाई जिल्ला बाहिर रिफर गरिएको बताउनु भएको छ ।
दुर्घटनामा परेको मिनीट्रक सडकदेखि करिव १ सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिएपनि कसरी दुर्घटना भयो भन्ने नखुलेको प्रहरीले जनाएकाे छ।