११ भदौ २०८१/ सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाले शिक्षा क्षेत्रको योजना निर्माण तथा अद्यावधिकबारे वृहत छलफल कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले दीर्घकालीन रूपमा शिक्षामा सुधार ल्याउने उद्देश्यका साथ शिक्षा क्षेत्रको योजना निर्माण तथा अद्यावधिक(२०७९–०८३) का लागि आजदेखि वृहत छलफल सुरु भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले संघीयतासँगै शिक्षा क्षेत्रको जिम्मेवारी स्थानीय तहमा रहेको बताउँनु भयो । अध्यक्ष बुढाथोकीले शिक्षा क्षेत्रको सुधार, गुणस्तरीय शिक्षा प्रवर्धन, विद्यालयको पहुँच र सामुदायिक सहभागिता बढाउने उद्देश्यले शिक्षा योजना निर्माण तथा अद्यावधिक गर्न लागिएको र यसले गर्दा शिक्षाको व्यवस्थापन, स्रोतसाधनको परिचालन, र शिक्षाको गुणस्तरमा सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी लगाएतले बोल्दै अद्यावधिक गरिएको शिक्षा योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।उहाँहरुले कार्यान्वयनका लागि समयावधि, जिम्मेवारी बाँडफाँड, र स्रोत साधनको व्यवस्था समेट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, र समुदायसँगको परामर्शबाट शिक्षाको वर्तमान अवस्था, समस्याहरू, र आवश्यकताहरू पहिचान गरेर विद्यालयहरूको तथ्याङ्क, विद्यार्थी संख्या, शिक्षकको स्थिति, भौतिक पूर्वाधार, शैक्षिक उपलब्धि, र अन्य सम्बद्ध तथ्याङ्क संकलन गरेर शिक्षा क्षेत्रमा भएका कमी–कमजोरीहरू पहिचान गरिएको जनाएकको छ । संकलित तथ्याङ्कको विश्लेषण गरेर हालको योजनामा के–के सुधार गर्नुपर्ने हो भन्ने कुरा निर्धारण गरिने र यसमा शिक्षक, अभिभावक, समुदायका प्रतिनिधि, र अन्य सरोकारवालासँग छलफल गरी योजना अद्यावधिक गर्नका लागि सुझावहरू संकलन गरिने जनाइएको छ ।
यस्तै कार्यक्रममा प्रारम्भीक कक्षा सिकाइ परियोजनाका पदम कठायतले शिक्षा क्षेत्र योजना निर्माण तथा अद्यावधिक गर्नुपर्ने आवश्यकताको बारेमा अवगत गराउनुभएको थियो । छलफलको क्रममा सहभागिहरुको तर्फबाट प्रधानाध्यापकहरु जीत बहादुर भण्डारी र कुन्ता केसी वलीले आफ्नो भनाई प्रस्तुत गर्दै विभिन्न सुझाव प्रदान गर्नुभएको थियो ।
छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा शिक्षा योजना निर्माण एवम् अद्यावधिक कार्यदलका संयोजक फौद बहादुर बस्नेतको अध्यक्षता,
गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा
जनप्रतिनिधी, कर्मचारी एवम् विद्यालयका प्रधानाध्यापकहरु, सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने भदौ १२ गते सम्म संचालन हुने कार्यक्रमको सहजीकरण, रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले गर्नु भएको थियो ।