सल्यानका किसानहरु व्यवसायीक बाख्रापालनमा आकर्षित

४ भदौ २०८१/ सल्यान

सल्यानमा व्यवसायीक बाख्रा पालनमा कृषकहरु आकर्षित हुन थालेका छन् ।

व्यवसायीक बाख्रा पालन बाट सोचे जतिको आम्दानी हुन थालेपछि कृषकहरु उक्त पेशा प्रति आकर्षित हुन थालेका हुन् ।

सल्यानमा हाल ५ लाख ६ हजार ६ सय भन्दा बढी बाख्राहरु रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

सल्यानलाई बाख्रा पालनमा उदाहरणीय जिल्ला बनाउन प्रदेश र स्थानिय तहको समन्वयमा पशु सेवा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका कार्यालय प्रमुख गोविन्द महतले बताउनु भएको छ ।

कार्यालयले व्यवसायी बाख्रा पालन गर्न किसान लाई बाख्रा वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको कार्यालय प्रमुख महतले बताउनु भयो ।

यस्तै कार्यालयले जिल्लाजा साना किसान र व्यावसायिक किसानलाई वर्गीकृत गरी खोर सुधार अनुदान, बजारीकरणका लागि संकलन सहजीकरण, सङ्क्रामक रोगविरुद्ध निःशुल्क खोप सेवा लगायत प्राविधिक सहयोग गर्दै आएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका नायब पशु सेवा प्राविधिक शर्मिला बुढाथोकीले बताउनु भएको छ ।उहाँले सल्यानको खसी बोका काठमाडौँ, पोखरा, धनगढी लगायतका प्रमुख सहरमा बढी माग हुने बताउँनु भएको छ ।

सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीले बढी मूल्य तिर्ने गरेको पाइएको छ । जङ्गलमा घाँस सँगसँगै जडीबुटी पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीले सल्यानको खसी बोकामा अन्य जिल्लाको तुलनामा बढी मूल्य हाल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस