१ साउन २०८१/ रुकुम पश्चिम्
रुकुममा बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु भएको छ भने,एक बेपत्ता र ६ जना घाइते भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडानं.१२ गिजा खोलामा गए राती आएको बाढीले भिमचौरमा घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो ।
बाढिले बगाउँदा ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् । यस्तै घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी रहेका छन ।
आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले बताउनु भयो । उहाँका अनुसार उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो ।
घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली तत्कालै खटिएको र
आज बिहान साढे चार बजेतिर सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको थप टोली घटनास्थल प्रस्थान गरेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।
उहाँले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा चारवटै सुरक्षा अंगका प्रमुख र रेडक्रसको पदाधिकारीको टोली राहत सामग्रीसहित घटनास्थलस्थल प्रस्थान गरेको जानकारी दिनु भएको छ ।