३० असार २०८१/ सल्यान
सल्यान रुकुम यातायात प्रालि सल्यानले एसी बस सेवा सुचारु गरेको छ ।
प्रालिले जिल्लाको सदरमुकाम खलंगा बाट काठमाण्डौका लागी सुबिधा सम्पन्न सिल्पर सस्पेन्शन एसी बस सेवा संचालनमा ल्याएको हो । आइतबार प्रालिको प्रधान कार्यालय श्रीनगर सल्यानमा रिबन काटेर गाडी संचालक तथा यात्रुलाई टिका खादा लगाएर काठमाण्डौका लागी एसी बस संचालन गरिएको हो । सल्यान रुकुम यातायात प्रालि सल्यानका अध्यक्ष अरविन्द कुमार राई र सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर सल्यान काठमाण्डौ एसी बस सेवा सुचारु भएको घोषणा गर्नु भएको हो ।
यस्तै प्रालिका संचालक समिति सदस्य प्रदीप कुमार पाण्डे र रन्जित कुमार राईले गाडी धनि,चालक,सहचालक लगाएत यात्रुहरुलाई टिका खादा लगाएर सफल एवं आरामदायी यात्राको शुभकामना व्यक्त गर्नु भएको थियो । जिल्ला बासीको माग र आवश्यकता अनुसार सल्यान बाट सुविधा सम्पन्न एसी बस आफुहरुले संचालनमा ल्याएको प्रालिका अध्यक्ष अरविन्द कुमार राइले बताउनु भयो ।उहाँले पहिलो चरणमा ३ वटा सिल्पर एसी बस संचालनमा ल्याएको र केहि बस बन्दै गरेको बताउनु भयो ।अध्यक्ष राईले अहिले संचालनमा रहेका बसमा एसी,पंखा,सोफासिट,४ जना यात्रु सुत्नको लागी बेडको व्यवस्था,मोबाइल चार्ज,एलिडि टिभि लगाएत अन्य दर्जन बढी सेवा सुबिधा रहेको बताउनु भयो ।
सल्यान खलंगा बाट काठमाण्डौका लागी २ हजार २ सय५ रुपैया र श्रीनगर बाट काठमाण्डौका लागी २ हजार १ सय २८ रुपैया भाडा भाडा निर्धारण गरिएको सल्यान रुकुम यातायात प्रालिका डायल इन्चार्ज सोभाकर थापा ( सुनिल) ले बताउनु भयो ।उहाँले प्रालिले जिल्लाको खलंगा बाट डिलक्स सेवा दिउँसो १ श्रीनगर बाट दिउँसो २ बजे र एसी बस खलंगा बाट दिउँसो २ बजे र श्रीनगर बाट दिउँसो ३ बजे काठमाण्डौका लागी छुटाइने बताउनु भयो ।