३१ जेष्ठ २०८१/ सल्यान
सल्यानको कालिमाटी गाउँपालिका वडानं.५ कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री वडा बनेको छ ।
पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० बमोजिम तोकिएका सबै सूचकहरु पुरा भएपछि उक्त वडा नेपालको दोस्रो र कर्णाली प्रदेशको पहिलो पोषण मैत्री वडा बनेको हो ।
विहीबार वडा नम्बर ५ को बालुवामा भएको, पोषणमैत्री वडा घोषणा कार्यक्रम, पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सदस्य प्रकाश ज्वालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको बिशिस्ट अतिथिमा कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारी, अतिथिहरुमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, उपप्रमुख असबिर बुढाथाेकी, कपुरकाेट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष सनशिल्ता डिसी( वली) वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।
पोषण मैत्री वडा घोषणाको कार्यक्रमका बारे बोल्दै कालिमाटी गाउँ पालिकाका अध्यक्ष दानबहादुर केसीले,संघीय सरकारले बनाएको नयाँ कार्यविधि अनुसार कर्णालीकै पहिलो र नेपालकाे दाेस्राे वडाकाे रुपमा पोषणमैत्री वडा घोषणा गरिएको बताउँनु भयो ।
अध्यक्ष केसीले,विभिन्न पोषणयुक्त खाना, सुत्केरी महिलाको स्याहार सुहार, हजार दिनका आमा र वच्चाको हेरचाहका साथै सरसफाईका विविध गतिविधि नियमित सञ्चालन भइरहेको वडामा करिव दुई वर्ष अगाडि थालिएको अभियानबाट पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि विभिन्न सुचांक पुरा भएको बताउनु भयो ।उहाँले उक्त कार्यमा विभिन्न क्षेत्र बाट सहयोग गर्ने सवैलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।
पोषणमैत्री वडा घोषणाका लागि सल्यान जिल्लास्तरीय अनुगमन तथा सिफारिस समितिले स्थलगत अनुगमन संगै पालिकाका विभिन्न प्रतिवेदनहरु अध्ययन गरेर केही दिन अघि घोषणाका लागि सिफारिस गरेको थियो ।
कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा, स्थानीय र मौलिक कला संस्कृती, रिरिरिवाज झल्कने झाँकीहरुकाे समेत प्रस्तुती गरिएकाे थियाे भने कार्यक्रमको संचालन गाउँपालिकाका एम आई एस अपरेटर दिप बहादुर वलीले गर्नु भएको थियो ।