१२ जेठ २०८१/ सल्यान
सल्यानमा बृहत सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार सल्यानको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले मौलिक कला संस्कृतिको सरक्षण गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।उहाँले मौलिक पहिचानको रुपमा रहेको सिंगारु र टप्पा नाच को संरक्षणको लागि सरोकारवाला निकायको सहयोगका साथै पुस्ता हस्तान्तरण हुनु पर्ने बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावलले कार्यक्रमले जिल्लाको लागि थप उर्जा मिलेको बताउँनु भयो ।यस्तै कार्यक्रमका बिशिस्ट अतिथि शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटाले उक्त कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउनु भयो । स्थानीय सरकारले पनि पुराना मौलिक संस्कृतिको संरक्षणमा तदारुकता देखाउन आवश्यकता रहेको भन्दै आगामी दिनमा शारदा नगरपालिकाले त्यस तर्फ ध्यान दिने बताउनु भएको छ ।कार्यक्रमका बिशिस्ट अतिथि तथा निर्णायक वीर बहादुर सेजुवालले मौलिक कला संरक्षण गर्नु भनेको पक्षिलो पुस्ताको सम्पती जगेर्ना गर्नु भएको बताउँनु भयो ।कार्यक्रममा लोक दोहोरी गायक शक्ति चन्द, कलाकार भद्रसिंह बुढा,दिपक वली,ललिता बस्नेत लगाएतले आफ्ना प्रस्तुति राख्नु भएको थियो कार्यक्रममा दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी,कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुन लगाएतको उपस्थिति रहेको थियो ।
सामाजिक बिकास कार्यालय सल्यानको आर्थिक सहयोगमा सम्पन्न भएको, टप्पा नाच प्रतियोगितामा दार्मा गाउँपालिकाको समूह पहिलो भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र बागचौर नगरपालिकाको समूह तेश्रो भएको हो ।यस्तै सिंगारु नाच प्रतियोगितामा बागचौर नगरपालिकाको समूह पहिलो, छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र दार्मा गाउँपालिकाको समूह तेश्रो भएको छ ।नृत्य प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने समुहलाइ नगद पुरस्कार,प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सामाजिक सेवा तथा सुचना केन्द्र, सल्यानका संरक्षक गोविन्द शर्माको अध्यक्षता, अध्यक्ष नोखिराम थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन संस्थाका सचीव चुडामणि पिएमले गर्नु भएको थियो ।