शिक्षक तथा कर्मचारी लाई राजनीतिक दलको सदस्यता त्याग्न,गाउँपालिकाको निर्देशन

१ जेष्ठ २०८१/ सल्यान

सल्यानको कपुरकोट गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।

गाउँपालिकाको गत वैशाख २४ गते बसेको शिक्षा समितिको बैठकले शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने निर्णय गरेको हो ।गाउँपालिकाको शिक्षा शाखाले एक सुचना सार्वजनिक गर्दै सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको गाउँपालिकाले जनाएको छ ।

सूचनामा १५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही गरिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी दिनु भयो ।

 

यसअघि शिक्षा मन्त्रालयले शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस