२८ वैशाख २०८१/ सल्यान
प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड ) ले स्थानीय तहले संघीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक स्रोत साधनको संरक्षण र बहुआयमिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तिकरण, सामाजिक सूचकहरूमा बढोत्तरी लगायत महत्त्वपूर्ण काम गर्न सकिने बताउनु भएको छ ।
शुक्रबार सल्यानको दार्मा गाउँपालिकाको नव निर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताउनु भएको छ ।
उहाँले यस आर्थिक वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर संघीयता सबल बनाउन लागिएको बताउनु भयो ।दाहालले ‘योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको बताउँनु भयो ।
उहाँले दार्मा जस्तो बिकट क्षेत्रमा आधुनिक खाले भवन निर्माण गरिनु,सरकारी स्तरका सेवा सुविधा जनताले उपभोग गर्न पाउनु दस बर्षिया जनयुद्ध र १९ दिने जन आन्दोलन उपलब्धि भएको बताउदै
दार्माको मुकाम फारूला छोएर रोल्पाबाट सल्यान, रूकुम पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले दार्माका दुग्ध सहकारीहरूमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन संघीय सरकारको तर्फबाट सहयोग गर्ने बताउनु भएको छ ।
दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी ( अरुण) को अध्यक्षता,उपाध्यक्ष जुना मल्ल (चन्द ) को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम कुमार ओलीले गर्नु भएको थियो ।