सल्यानमा यात्रु संग दुई मिनेट अभियान संचालन

१६ फागुन २०८०/ सल्यान

जिल्ला प्रहरी कार्यालय सल्यानले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना दिन सडकमै यात्रुसँग दुई मिनेट अभियान अन्तर्गत प्रहरीले राप्ती राजमार्ग र छिन्चु जाजरकोट सडक खण्डमा गुड्ने सवारी साधनका चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरेको हो ।

उक्त अभियानमा सवारीसाधन चालकको सुगर, ब्लड प्रेसर र आँखा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकहरूमा सुगर र प्रेसर धेरै भएको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनु भयो । सल्यानमा हुने सवारी दुर्घटना रोक्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउँदै चालकको स्वास्थ्यका कारण पनि दुर्घटना हुने गरेको पाइएकाले यात्रुसँग दुई मिनेट कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य परीक्षणका साथै यात्रुहरूलाई सचेतनामूलक सन्देश प्रवाह गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो । ‘तीन ठाउँमा गरिएको कार्यक्रममा अधिकांश चालकहरूमा सुगरको मात्रा धेरै, प्रेसर हाइ भएको पाइएको कार्कीले बताउनु भयो ।

दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको भनाई छ । उहाँले ‘चालकको सामान्य त्रुटिबाट पनि ठुलो जनधनको क्षति हुनसक्छ, हरेक दिन जसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियान आफुहरुले सञ्चालन गरेको बताउनु भयो ।बुधबार सल्यानको श्रीनगरमा गरिएको उक्त अभियानमा चालकको स्वास्थ्य परिक्षण संगै गाडीका, बेक्र,बेक्र प्याड,लाईट लगाएतको चेक जाच गरिएको थियो ।

उक्त कार्यक्रममा शारदा नगर पालिकाकी उप-प्रमुख सुस्मिता सापकोटा, सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्की, शसस्त्र प्रहरी बल नेपाल अनाश्रीत गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक शुशिल श्रेष्ठ, राष्टिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत नेब बहादुर राना,सल्यान रुकुम यातायात प्रालि सल्यानका अध्यक्ष अरविन्द कुमार राई लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस