१६ पौष २०८०/ सल्यान
साना किसान कृषि सहकारी संस्था लिमिटेड छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराको ८ औँ साधारणसभा सम्पन्न भएको छ ।
साना किसानको समृद्धि,कृषीको रुपान्तरण र उधमशिल्ताको बिकास भन्ने मुल नारा सहित आइतबार लेखपोखराको लेखानाचौरमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले गाउँमा चर्को ब्याजमा ऋणलिन बाध्य कृषकहरुको लागि साना किसान कृषि सहकारी सहयात्री बनेको बताउनु भएको छ ।उहाँले सहकारीले चर्को ब्याजदरमा ऋणलिनुपर्ने समस्याको अन्त्य गरिदिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बुढाथोकीले सहकारीबाट लिएको ऋणलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनु भएको छ ।उहाँले सहकारी बाट लिएको ऋणलाई उत्पादनशिल क्षेत्रमा जोडेर आर्थिक अवस्था सुधार गर्न सरोकारवाला संग अनुरोध गर्नु भएको छ ।
यस्तै कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले सहकारीको वृद्धि विकासको लागि पालिकाले गर्नुपर्ने सहयोग सधैं गर्ने बताउनुभयो ।उहाँले उक्त सहकारीले त्यहाँका जनताको जिवनस्तरमा परिवर्तन ल्याउने बिश्वास व्यक्त गर्दै नमुना सहकारीको रुपमा स्थापित गर्न कार्यसमितिलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका–५ का वडाअध्यक्ष फौद बहादुर बस्नेत, साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटका प्रबन्धक जित प्रसाद आचार्य लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
४ सय ८६ जना महिला र २९ पुरुष गरेर ५ सय १५ जना शेयर सदस्य रहेको साना किसान कृषि सहकारी संस्थाको २ करोड २२ लाख ७१ हजार ३ सय रुपैँया लगानी रहेको छ । संस्थाले १ करोड ११ लाख ६१ हजार २ सय रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ । यस्तै शेयर पुँजी २७ लाख ६२ हजार ३ सय रुपैयाँ, जगेडा कोष ७ लाख ५६ हजार २ सय रुपैया र खुद मुनाफा ४ लाख ५६ हजार रुपैया रहेको छ ।
सहकारीका उपाध्यक्ष सिता वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्था प्रवन्धक धन बहादुर परियारले गर्नुभएको थियो ।