१३ पौष २०८०/ सल्यान
सल्यानमा नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै लाखौ रकम ठगी गरेको आरोपमा एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका २ कट्विरका अन्दाजी २५ वर्षीय भोला पुन मगरलाई सोही ठाउँका ६ जना युवालाई नेपाल प्रहरीको जागीर लगाइदिन्छु भनी प्रलोभनमा पारेर लाखौ रकम असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
भोलाले कालिमाटी २ टाट्केका सुशिल कुमार पुन, योगेन्द्र थापा, जनक केसी, सुरेश खत्री, नेत्रलाल केसी र महेश कुमार केसीलाई जवान र असईमा भर्ना गरी जागिर खुवाई दिने लोभ लालच र प्रलोभनमा परी प्रतिव्यक्ति ५० हजारका दरले ३ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भएको हो । निज पुन मगरले आफ्नो प्रहरीका उच्च पदस्थ अधिकारीसँग राम्रो सम्पर्क रहेको र पहिले पनि धेरै जनालाई जागिर लगाई दिइ सकेकाले शतप्रतिशत काम हुन्छ भनी पिडितहरुलाई आफ्नो घरको काममा समेत लगाउने गरेको प्रहरीको भनाई छ ।
पिडितहरुले कि प्रहरीमा जागिर लगाई दिन कि त पैसा फिर्ता गर्न आग्रह गर्दा पुन मगरले म दिदैन, तिमिहरुले मलाई पैसा दिएका छैनौ जे गछौं गर भने पछि पिडितहरुले पुस ८ गते इलाका प्रहरी कार्यालय लुहाममा जाहेरी दिएका थिए ।
जाहेरीकै आधारमा प्रहरीले निज पुनलाई त्रिवेणीको लुहाम बजार बाट पक्राउ गरेको हो ।