सल्यान जिल्लाको शान्ति सुरक्षा लगाएत बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार श्रीनगरमा भएको कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले शारीरिक तथा मानसिक रुपमा अपांगता भएका व्यक्तिहरुका अधिकारलाई संरक्षण गर्ने जिम्मा सरोकारवाला निकायहरूको भएको बताउनु भएको छ ।उहाँले अपाङ्गता भएकै कारण सामाजिक रुपमा, बहिस्कृत र तिरस्कृत हुनु पर्ने बाध्यता हट्नु पर्ने, ‘नेपालको संविधान, कानुन र नीतिहरूले दिएका अधिकारलाई पुर्ण रुपले पालना गर्नु पर्ने बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि कार्यालयमा अपाङ्गता मैत्री हेल्प डेस्क निर्माण गर्न थालेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले सल्यान जिल्लाको शान्ति सुरक्षामा आफुहरु प्रतिबद्ध भएर लागि परेको बताउनु भयो ।उहाँले प्रहरीको काम कर्तव्य र अधिकातलाई आत्मसात गर्दै सल्यान जिल्ला बासी सम्पूर्ण नागरिकको सुरक्षामा कटिबद्ध रहेको बताउनु भयो । प्रहरी प्रमुख कार्कीले शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिसँग विशेष क्षमता हुने र उक्त क्षमतालाई समाजले पहिल्याउन नसक्दा समस्या देखिएको बताउँनु भयो ।
कार्यक्रममा तार्केश्वरनगरपालिका प्रमुख कृष्णहरी महर्जन, छत्रेश्वरी गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष केसी, शारदा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रदीप कुमार पाण्डे,सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी,सशस्त्र प्रहरी प्रमुख सुशील श्रेष्ठ,सल्यान रुकुम यातायात प्रा.लिका अध्यक्ष अरविन्द कुमार राई,शारदा यातायात सेवा प्रालि सल्यानका उपाध्यक्ष कर्ण बहादुर बस्नेत,कल्याणकारी अपांग संघ सल्यानका अध्यक्ष कृष्ण बुढा लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच निकै कम रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा एक सय बढी सरोकारवाला निकाय व्यक्तिको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रहरी सहायक निरीक्षक उमेश कवरले गर्नु भएको थियो ।