माओवादी पार्टी सर्वहारा बर्गको पार्टी बन्नु पर्ने उपमहासचिव यादवको भनाई

२१ मंसीर २०८०/ सल्यान

नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव मातृका प्रसाद यादवले माओवादी पार्टी पृथक पहिचान सहितको पार्टी भएकाले आफ्नो अस्तित्व जोगाउन नेता कार्यकर्ता लाई आग्रह गर्नु भएको छ।शान्ति प्रक्रिया संगै शहर केन्द्रित माओवादी पार्टीले जनताका मुद्दा  लाई भुल्दै गएको र त्यसकै परिणाम अहिलेको अवस्थामा पार्टी कम्जोर हुन पुगेको बताउनु भयो ।

बुधबार सल्यानको बागचौरमा भएको साँस्कृतिक कार्यक्रमसहितको संकल्प सभालाई सम्बोधन गर्दै,उपमहासचिव यादवले आफ्नो पहिचान र जनताका मुद्दा लाई भुलेर निर्वाचन होस या सत्ता साझेदारीको लागि अन्य पार्टीहरु संग गरिने तालमेलले माओवादी शक्तिलाई कम्जोर बनाउदै गएको बताउनु भयो ।पुर्व मन्त्री समेत रहनु भएका यादवले सरकार र सत्ताले मात्र जनयुद्धका उपलब्धि लाई संस्थागत गर्न नसक्ने,जनताका मुद्दा  लाई उठान गर्न नसक्ने भन्दै सत्ताको मोह बाट पार्टी परिस्थिति अनुरुप टाढा रहन सक्नु पर्ने समेत बताउनु भयो ।रुपान्तरण अभियानका कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका यादवले समाजवादी आन्दोलन र नयाँ जनवादी व्यवस्थाको लागि अहिलेको रुपान्तरण अभियान आवश्यक भएको बताउनु भयो ।नेता यादवले देश परिवर्तनको लागि सहि गर्नेलाई साथ र गलत गर्नेको लागि सशक्तरुपमा बिद्रोह गर्न जनतालाई निर्देशन दिनु भएको छ ।

सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीले माओवादी जनताको पार्टी बन्नु पर्नेमा जोड दिनु भयो ।हिजो जनयुद्धको क्रममा भरपुर साथ दिएका जनताले अहिले पार्टी लाई छोड्दै जानुले पार्टी र आन्दोलन प्रतिको बिश्वासमा कमि भएको बताउनु भयो ।कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले रुपान्तरण अभियानले पार्टीको गतिलाई तिब्रताका साथ अगाडि बढाएको भन्दै गरिब दुखी र सर्वहाराको नेतृत्व गरे फेरि पनि माओवादी देशको पहिलो शक्ति बन्ने बताउनु भयो ।
नेता शाहिले जनताले खोजेको बिकास हो,हरेक व्यवस्था आए, धेरै शासन पनि आए, अहिले लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा पनि थुप्रै सरकारहरु वदलिए, तर जनताको जिवन वदलिएन, अवस्था बदलिएन र यो समस्याको समाधान गर्न माओवादी प्रतिबद्ध रहनु पर्ने बताउनु भयो ।

यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेश भण्डारीले माओवादी केन्द्रका नेता कार्यकर्ता रुपान्तरण हुन जरुरी रहेको बताउनु भयो । आफुहरुले संचालन गरेको रुपान्तरण अभियानको गति लाई पकट्न र देशमा परिवर्तन गर्न सक्ने पार्टी भनेको माओवादीनै हो भन्ने बिश्वास जनतामा दिलाउन पार्टी भित्र मौलाएको बिषालु शक्ति अन्त गर्नु पर्ने बताउनु भयो ।पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले माओवादीले ल्याएको उपलब्धि लाई खोस्नको लागि पछिल्लो समयमा केही अवसरवादी र पश्चगामी सोचको शक्ति लागि परेको बताउदै,हजारौं शहिदहरु को बलिदानिको मूल्य चुकाउन नहुने बताउनु भयो । उहाँले बागचौर नगरपालिका सल्यान जिल्लाकै पहिलो सहिद बनाउने एउटा रक्तिम भुमी रहेको र सहिद तथा घाइते अपाङ्गका सपनालाई टुट्न नदिन जनतामा आग्रह गर्नु भयो ।

पार्टीका जिल्ला संयोजक तथा केन्द्रिय सदस्य कृति बहादुर पुन,केन्द्रिय सदस्य तथा पुर्व विधायिका टीका बुढाथोकीले सल्यान जिल्ला लगाएत देश भरी पार्टी नयाँ ढंगले अगाडि बढेको बताउनु भयो ।उहाँहरुले अवसरको जगमा होइन,माओवादी आन्दोलनको जगमा टेकेर जनताका आशा अपेक्षाहरुलाई पूरा गर्न आफुहरु लागि पर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्र बागचौर नगरको आयोजनामा भएको संकल्प सभा कार्यक्रम नगरकमीटी उपाध्यक्ष रोमु शाहिको स्वागत मन्तव्य,पार्टीका केन्द्रिय सदस्य ज्ञान बहादुर वली ( माइकल ) को अध्यक्षतामा सुरु भएको थियो ।सभामा बागचौर नगरपालिका भित्रका एक दर्जन बढि विभिन्न कला संस्कृती झल्कने प्रस्तुतीलाई पनि प्रदर्शन गरिएको थियो भने कार्यक्रमको संचालन माओवादी केन्द्रका नगरकमीटी अध्यक्ष सोभाराम भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस