लैंगीक हिंसा विरुद्धको १६ दिने अभियान प्रभातफेरि सहित सुरुवात

९ मंसीर २०८० / सल्यान

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरु गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले,लिंगकै आधारमा हुने सवै खाले हिंसाको अन्त्य गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ ।
शनिबार सल्यानको श्रीनगरमा भएको प्रभात फ़ेरि कार्यक्रममा बोल्दै प्रहरी प्रमुख कार्कीले समाजमा लैङ्गिक हिंसाका विभिन्न रुपहरु रहेको र त्यस्ता हिंसा गरे कानुनी कार्वाहीमा पर्न सक्ने अवस्थालाई नबुझ्दा हिंसाका घटनाहरु बढ्ने बताउनु भएको छ ।उहाँले यो १६ दिने अभियानलाई प्रभावकारी बनाउन र सामाजिक रुपमा सकारात्मक सन्देश दिन बिधालय,गाउँ टोलहरुमा प्रहरी पुगेर सचेतनामुलक कार्यक्रम गर्ने बताउनु भएको हो ।
अभियानको सन्दर्भमा बोल्दै शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले नगरका प्रत्येक टोलबस्तिमा लिंगको आधारमा हुने हिंसाको अन्त्य गर्न लागि पर्ने बताउनु भयो ।उहाँले हाम्रो समाजमा अशिक्षाकै कारण आफू माथी भएको हिंसा थाहा न पाउने अवस्था समेत रहेको र त्यसले अझै नकारात्मक प्रभाव पार्दै गएको बताउनु भयो ।उपप्रमुख सापकोटाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले हाम्रो समाजमा रहेको पुरानो सोच संस्कार,संस्कृतिले लैंगिक बिभेदको सृजना गरेको र त्यसको अन्त हुन जरुरत रहेको बताउनु भयो ।उहाँले लैंगिक बिभेद गर्ने जो कोहिलाई पनि कानुन लाग्ने बताउनु भयो ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको उक्त अभियान अन्तर्गत आज पहिलो दिन श्रीनगर बजारमा प्रभात फ़ेरि गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलाइन्छ। सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि यससम्बन्धी विभिन्न अभियान शुरु भएको हो। सल्यानमा पनि प्रहरीले स्थानीय सरकारसंग मिलेर जिल्लाव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रमको सहजीकरण मिना बुढाथोकीले गर्नु भएको थियो भने,कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि विद्यार्थी तथा स्थानीयको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस