दार्माका भुकम्प प्रभावित घरहरुमा स्वास्थ्य चेकजाँच सेवा सुरु

६ मंसीर २०८०/ सल्यान

सल्यानको दार्मा गाउँपालिका भित्र भुकम्प प्रभावित नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्न थालिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र दार्मा गाउँपालिकाको व्यवस्थापनमा स्वास्थ्य चेकजाँच तथा उपचार गर्न थालिएको हो ।

जाजरकोट लाई केन्द्र बिन्दु बनाएर गत कार्तिकमा गएको भुकम्पको कारण सल्यानका केही स्थानीय तहहरुमा पनि क्षति पुगेको र जिल्लाको दार्मा गाउँपालिकामा बढी क्षति भएकाले त्यहाँका भुकम्प प्रभावित नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै उक्त अभियान संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

भूकम्पका कारण प्रभावित भएको दार्मामा चिसोले गर्दा बालबालिका, सुत्केरी तथा बुढाबुढीमा स्वास्थ्य समस्यामा देखा
परेकाले बिरामीलाई सन्चो पार्न र कुनै पनि रोगको महामारी न आओस,भनेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा संचालन गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन कुमार बुढामगरले बताउनु भएको छ ।शिविर सञ्चालन गर्दा भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र विरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि विरामी परेकाको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको प्रमुख बुढामगरले बताउनु भयो । उक्त उपचार सेवामा आफु लगाएत स्वास्थ्य सेवा कार्यालय सल्यानका डाक्टर, स्वास्थ्यकर्मी र पालिकाका स्वास्थ्यकर्मीको टोली खटिएको बुढामगरले बताउनु भयो।

मंगलबार देखि संचालन गरिएको उक्त उपचार सेवामा बिरामी लाई परामर्श समेत दिदै आएको,स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य निरिक्षक तारा प्रसाद रिजालले जाकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक रिजालका अनुसार पहिलो दिन दार्मा गाउँपालिका १, २ र ३ का करिब एक सय पचास बढी नागरिकको स्वास्थ्य जाँच गरिएको र बुधबार पनि उक्त सेवा संचालन गरिने बताइएको छ । डाक्टर सहितको स्वास्थ्यकर्मी टोली भुकम्प प्रभावित घरहरुमा पुग्दा आफुहरु लगाएत दार्माका नागरिक खुसी भएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउँनु भएको छ। उहाँले अफ्ट्यारो परिस्थितिमा जनताको सेवामा खटिनुभएका सवैलाई धन्यवाद दिदै भुकम्प प्रभावित क्षेत्रका नागरिकको सेवामा लाग्न सवैमा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस