छत्रेश्वरीका वडाहरुबाटै भत्ता वितरण सुरु, लाभग्राही खुसी

५ मङ्सिर २०८०/ सल्यान

छत्रेश्वरी गाउँपालिकाले मंगलबारदेखी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाइ सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ ।

१ नम्बर वडा कार्यालय मार्फत ६० बर्ष माथिका दलित जेष्ठ नागरिक, ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य, पुर्ण अपांगता भएका तथा अति अशक्त अपांगता भएका लाभग्राहिहरुलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । मंगलबार वडा नम्बर १ का ९२ जना लाभग्राहिलाइ भत्ता वितरण गरिएको वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिनु भएको छ ।

भत्ता वितरण सुरुवात गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, १ नम्बर वडा अध्यक्ष प्रकाश हमालले बैंकमा भत्ता लिन आउंदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने, अन्य सास्ती हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याउने प्रयत्न गरिएको बताउनु भयो । आगामी दिनमा पनि यस कार्यलाइ निरन्तरता दिने उहाँहरुको भनाई छ ।

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लान्ती शाखाका प्रतिनिधि हृदय विष्टले गाउँपालिकाले धेरै पहिले देखि नै वडा बाटै भत्ता वितरणको लागि निर्णय र आग्रह गरेपनी प्राविधिक कार्य मिलाउन केही समय लागेको र यस पटकको सिकाइलाइ आत्मसाथ गर्दै आगामी दिनमा अझै सहज तरिकाले भत्ता वितरणको काम गरिने बताउनु भयो ।

अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको हो ।
वडा कार्यालय बाट भत्ता पाएपछि छत्रेश्वरी, १ पलाटेकि ७५ बर्षिय कलावती चन्द लगाएतका अन्य व्यक्तिहरुले आफुहरु खुसी भएको बताउनु भयो ।

सो अवसरमा वडा नम्बर १ का जनप्रतिनिधिहरु चुडामणि न्यौपाने, भिम बहादुर शाही, दिपा घर्ती, सुनिता विक लगायत सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका कर्मचारी, अन्य कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक श्री गिता अधिकारीले गर्नुभएको थियो ।

गाउँपालिकाले बुधबार वडा नम्बर २ को दहखोला, ७ गते वडा नम्बर ५ को लेखपोखरा, १० गते वडा नम्बर ४ को जयचौर, ११ गते वडा नम्बर ३ को मुलखोका र १२ गते वडा नम्बर ७ को राङ्सीमा भत्ता वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस