बैंकको सेवा वडामै, आफ्नै ठाउँमा सामाजिक सुरक्षा भत्ता

२५ कार्तिक २०८०/ सल्यान

बैंकसम्म गएर भत्ता बुझ्न समस्या हुने भएपछि सल्यानको छत्रेश्वरी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएको छ ।

अब लाभग्राहिहरुले बैंकको सेवा वडा–वडाबाट नै प्राप्त गर्नेछन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सहकार्यमा आगामी मंसीर ५ गतेदेखी गाउँपालिकाले वडा कार्यालयहरुबाटै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिनु भएको छ ।

६० बर्ष माथिका जेष्ठ नागरिक दलित, ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य, पुर्ण अपांगता तथा अति अशक्त अपांगता समुहका लाभग्राहिहरुले आफ्नो वडाबाट नै आर्थिक बर्ष २०८०/०८१ को प्रथम त्रैमासिक भत्ता प्राप्त गर्नेछन् । गाउँपालिकाको भत्ता वितरण समय तालिका अनुसार आगामी मंसीर ५ गते छत्रेश्वरी-१ को दमाचौरमा, ६ गते वडा नम्बर २ को दहखोला, ७ गते वडा नम्बर ५ को लेखपोखरा, १० गते वडा नम्बर ४ को जयचौर, ११ गते वडा नम्बर ३ को मुलखोका र १२ गते वडा नम्बर ७ को राङ्सीमा बैंक सहितको टोलिले भत्ता वितरण गर्नेछ ।

बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामानै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम सुरु गरी सेवा प्रवाहमा सहजता ल्याउन लागिएको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ । अहिले पालिकाको प्रशासकीय केन्द्र भोटेचौर नजिक लान्तीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र धेरै समय लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको प्रवन्ध मिलाइएको बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस