सल्यानको दमाचौरमा पाँचौ दशै विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

२ कार्तिक २०८०/ सल्यान

सल्यानको दमाचौरमा पाँचौ दशै विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

 

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ को प्रतिभाशाली युवा क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम अन्तर्गत विहिबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेलकुद प्रतियोगितासंगै गाउँपालिकाले संचालन गरेको करांते खेलको समेत उद्घाटन गर्नु भएको हो । सो अवसरमा कराँतेको स्पाईक प्रदर्शन गरिएको थियो ।

चार दिन सम्म संचालन हुने कार्यक्रममा टोल स्तरिय खुला भलिवल प्रतियोगिता र साविक दमाचौर गाविसका वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको प्रतिभासाली युवा क्लबका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले स्वस्थ, अनुशासित, लगनशील जनशक्ति उत्पादन र मनोरञ्जनका लागि खेल क्षेत्रको महत्व रहेको चर्चा गर्नु भयो । उहाँले चाडपर्वको मौलिकता जोगाउदै सभ्य र सुसंस्कृत रुपले आपसी एकता कायम राख्दै दशै तिहार मनाउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम पहाडी, ६ का वडा अध्यक्ष टिकाराम बुढा लगायतले बोल्दै खेलकुद प्रवर्द्धन र मौलिक कला संस्कृति संरक्षणका लागि आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत कार्तिक ५ गते आइतबार लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सुनिता बुढा क्षेत्री लगायतका कलाकारले दमाचौरमा आएर सांगीतिक प्रस्तुती राख्नेछन् । मौलिक लोक कला संस्कृतिहरु सोरठी, पैसरी, पञ्चेबाजाको प्रस्तुती संगै राष्ट्रिय तथा स्थानिय स्तरका दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने र स्थानिय नव प्रतिभाहरुलाइ पनि स्थान दिइने कार्यक्रम संयोजक प्रकाश चन्दले जानकारी दिनु भयो ।

भलिवल प्रतियोगितामा १३ वटा समुह र फुटबल प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्दैछन् । कला, संस्कृती, खेलकुद राष्ट्रको सान: कृषी, शिक्षा, पर्यटन हाम्रो आह्वान भन्ने नारा सहित सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा जनप्रतिनिधि, राजनिति दल, खेल समिती, कर्मचारी, बिधालयका प्रतिनिधि, विभिन्न संघ संस्था, पत्रकार , सुरक्षाकर्मि, खेलाडी , खेलप्रेमिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस