३० असोज २०८०/ सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानले एक कार्यक्रमका साथ ६८ औं प्रहरी दिवस मनाएको छ ।

मंगलवार भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले मुलुकको शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका अहम् रहेको बताउनुभएको छ ।उहाँले सबल र सुदृढ शान्ति सुरक्षाबाट नै मुलुकको स्वतन्त्र अस्तित्व र जनताको जीवन रक्षामा प्रहरीको योगदान महत्वपुर्ण भएको बताउनुभएको हो । नेपाल प्रहरीले हरेक परिस्थितीमा पनि नागरिकको जीवन रक्षा, उद्धार र राहत वितरणमा देखाएको सक्रियता प्रशंसायोग्य रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहँदै आएको बताउनुभयो ।
यस्तै सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नविन कार्कीले शान्ति सुरक्षाका क्षेत्रमा आमनागरिकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नागरिकको सहयोग विना प्रहरी एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । जिल्लामा भौतिक संरचना अभाव लगाएत बिभिन्न चुनौतीका बाबजुत पनि प्रहरीले काम गर्दै आएको बताउदैँ उहाँले शान्ति सुरक्षा र अपराधसम्बन्धी आउन सक्ने चुनौती र त्यसले पार्न सक्ने प्रभावप्रति नेपाल प्रहरी सजग र सचेत रहेको बताउनुभयो ।
कार्यक्रममा त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसी, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत लगाएत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पुर्व प्रहरी, प्रहरी परिवार, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
प्रहरी दिवसका अवसरमा सञ्चालित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । यस्तै उत्कृष्ट कार्य गर्ने विभिन्न ओहोदामा रहेका प्रहरीलाई पुरस्कृत गरिएको छ । प्रहरी निरिक्षक गोपाल श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक घनश्याम सुनारले गर्नुभएको थियो ।