नेकपा माओवादी केन्द्र सल्यानको पत्रकार सम्मेलन सम्पन्न

१७ असोज २०८०/ सल्यान

नेकपा माओवादी केन्द्र सल्यानले पत्रकार सम्मेलन गरेको छ ।

बुधबार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा पार्टीले सन्चालनमा ल्याएको तीन महिने रुपान्तरण अभियान अन्तर्गत हाल सम्म गरेका काम र आगामी दिनमा गर्ने कामको बारेमा जानकारी दिइएको बताइएको छ।

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान १ महिना पुगेको अवसरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्र सल्यानका इन्चार्ज नरेश भण्डारीले “रुपान्तरित विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध सुशासन सल्यानका लागि गरौ योगदान” भन्ने नारा सहित सल्यानमा चलेको अभियानमा सल्यानको सापेक्षतामा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याइएको बताउनु भएको छ ।

जिल्लामा पार्टीले मतदातासंग मनका कुरा, माओवादीसंग जनका कुरा, सल्यानीसंग सरकार, जनतासंग जनसंगठन, दु:खीसंग २ दिन, संचारकर्मीसंग सहकार्य जस्ता कार्यक्रमहरु राखएिको भण्डारीले बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएका भण्डारीले श्रम शुक्रबार, संकल्प सभा, उत्पादन उत्प्रेरणा, सिर्जनशील सप्ताह, सुशासनको सुइको, संघर्ष, शिक्षामा सिकायत, समाधान, स्वास्थ्यामा सकस र समाधान, विकासमा विवेक र वेथिती लगायतका कार्यक्रमपनि अभियान अन्तरगत चलेको बताइनु भयो ।
यस्तै भण्डारीले व्यक्तित्व विकासका लागि म लेख्छु, म बोल्छु, म पढ्छु, र म गर्छु जस्ता कार्यक्रम पनि चलाइएको र त्यसले अभियानकर्ता र आम जनताको व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राख्नु भयो । पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले रुपान्तरण अभियानले जनतामा जागरण ल्याएको बताउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला संयोजक कृति बहादुर पुन ( प्रकाण्ड)ले रुपान्तरण अभियान माओवादीको मात्रै नभएर देशका सम्पुर्ण मान्छेहरुको भएको भन्दै आफुहरु त्यहि अनुरुप लागेको बताउनु भएको छ । पुनले अहिलेको व्यवस्थामा खतरा पैदा भएको भन्दै सबैजना सजग बन्नुपर्ने बेला आएको र अझै सजक सचेत बन्ने जिम्मा माओवादीको भएको बताउनु भयो ।
उहाँले घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहित माओवादीले भाद्र १६ गते देखि देशव्यापाी चालेको अभियान आगामी मंसिर १५ सम्म चल्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण माओवादीका युवा नेता तथा प्रदेश सदस्य भिम कुमाखीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस