६ असोज २०८०/सल्यान
दाङमा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
आफूलाई देउता चढेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेक बहादुर हमालले अन्धाधुन्ध खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेका छन् भने अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो २ बजेतिर भएको उक्त घटनामा परि स्थानीय अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घरमा बसेर कपासको बत्ती काटिरहेकी रिता लामिछानेमाथि हमालले आक्रमण गरेका थिए । डिएसपी पोखरेलका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै कुनै रिसिबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेको बताउनु भयो ।स्थानीयका अनुसार गाउँलेमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्ने टेकबहादुर करिब साढे दुई महिना अगाडि मात्रै छिमेकी देश भारतबाट घर फर्किएका थिए। उनी रोजगारीको शिलशिलामा भारत गएर फर्किएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेकाे जनाएकाे छ ।
खुकुरी प्रहारबाट घाइते भएका कमला कुमारी हमाल लाई तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ भने बीर बहादुर हमालकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ ।खुकुरी प्रहार गर्ने हमाललाई आफुहरुले नियन्त्रणमा लिएको डिएसपी पोख्रेलले बताउनु भयो ।