आफ्नो कार्यकाल भित्र राप्ती राजमार्ग कालोपत्रे सहित दुई लेनको हुन्छ मन्त्री ज्वाला

२९ भदौ २०८०/ सल्यान

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफ्नो कार्यकाल भित्र राप्ती राजमार्गको स्तर वृद्धि हुने बताउनु भएको छ ।

बिहिवार सल्यान खलंगामा नेपाल पत्रकार महासंघ सल्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले अवको चार बर्ष भित्र दुई लेनको राप्ती राजमार्ग सम्पन्न हुने बताउनु भएको छ ।

राप्ती राजमार्गको स्तरोन्नति,कालोपत्रे सहित दुई लेन बनाउनको लागि यसपटक धेरै वजेट विनियोजन भएको र बुहबर्षिय आयोजना मार्फत काम गर्नका लागि ९० करोड रुपैँया छुट्याइएको मन्त्री ज्वालाले बताउनु भयो । आगामी चार बर्षमा काम सम्पन्न गर्नका लागि ३ अर्व ६० करोड रुपैँया सुनिश्चित भैसकेको र
राप्ती राजमार्गको स्तरोन्नतिका सन्दर्भमा आफुहरुले तीन चरणमा काम काम गर्ने बताउनु भएको छ ।पहिलो चरण अर्थात अहिले सडक मर्मत सहित सहज आवतजावतको व्यवस्था गरेको सडक मर्मतका ५ वटा ठेक्का सम्पन्न भैसकेको र केहीको काम जारी भएको भन्दै काम नगर्नेको ठेक्का रद्ध गरेको मन्त्री ज्वालाले बताउनु भयो ।


मन्त्री ज्वालाले आफुहरुले गरेको कामको नतिजा देखिन थालेको, एक बर्षिय साना योजनाको टेण्डर भैसकेको र बहुबर्षिय योजनाको पनि तत्कालै टेण्डरको काम शुरु गरिने बताउनुभयो । राप्ती राजमार्गसँगै मदन भण्डारी राजमार्गको पाथिहाल्न –थारमारे–श्रीनगर–खलंगा–बालुसंग्रही खण्ड, लुम्बिनी रारा राजमार्गको तुलसीपुर–लुहाम–थारमारे–चौरजहारी खण्ड, अन्तरप्रदेश जाड्ने खलंगा–कालिमाटी–घुइयावारी–कोहलपुर सडकलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

उहाँले तत्काल सडक ऐन ल्याउने र सडक वर्गिकरण गरिने बताउनुभयो । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कुन स्तरको तथा कति बजेट सम्मको सकडकोे काम गर्ने भन्नेबारे स्पष्ट वर्गीकरण गरिने उहाँको भनाइ छ । विगतमा अस्तव्यस्त रहेको यातायात व्यवस्थाको क्षेत्रका बेतिथि हटाउन केही काम अघि बढाइएको उहाँको दावी छ । ‘अहिले पनि सवारी चालक अनुमतिपत्रका लागि परीक्षा पास गरेका ११ लाख जतिले स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन्, यो समस्या समाधानको लागि डिजीको पनि व्यवस्था गरेका छौँ, आइटी निर्देशक पनि ल्याइसकेका छौँ’ उहाँले भन्नुभयो ।

ट्रायल पास गरेको ३ दिनभित्र लाइसेन्स हात पर्नेगरी काम बघि बढाइने ज्वालाको दाबी छ । यातायात क्षेत्रमा विचौलियाको विगविगी अन्त्य गर्न अनलाईन प्रणाली सुरु गरिसकेको भन्दै उहाँले एक महिनाभित्र देशैभरी अनलाईन प्रणाली कार्यान्वयनमा आउने बताउनुभयो । सल्यानबाट यातायात सम्बन्धी राजस्व बुझाउन सुर्खेत तथा दाङ जानुपर्ने अवस्थालाई सम्बोधन गर्न तत्कालको लागि सल्यानमा राजस्व काउण्टर स्थापना गर्ने टुंगो लागिसकेको मन्त्री ज्वालाको भनाइ छ ।

पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य उदय बहादुर वोहरा लगाएतको पनि सहभागिता थियो । नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस