०८ भदौ २०८०/ सल्यान
नेकपा माओवादी केन्द्र सल्यानले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको सन्दर्भमा शुक्रवार सल्यानको बागचौरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले अहिलेको कार्ययोजना एउटा बत्ति भएको र माओवादीको कुनै पनि नेता कार्यकर्ता रूपान्तरित हुन नसके खरानी बन्न सक्ने बताउनु भएको छ ।
पुर्व मन्त्री सम्म रहेका भण्डारीले नेपालमा क्यान्सरको रुपमा रहेको भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्न वर्तमान सरकार लागी परेकाले भ्रष्टाचार विरुद्धको लडाई सबै नेपालीको साझा लडाइ बन्नु पर्नेमा जोड दिनु भएको छ ।उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) जनयुद्धको लडाई भन्दा कठिन भ्रष्टाचार विरुद्धको लडाइको नेतृत्वमा होमिनुभएको बताउनु भयो ।
उहाँले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । भ्रष्टाचार विरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी काण्ड, मिटर ब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको उहाँले बताउनुभयो ।
विगतका घटनाहरूलाई स्मरण गर्दै यस पटक सरकारले अपराधिक गतिविधिलाई निस्तेज पार्दै सामाजिक न्यायको क्षेत्रमा धेरै राम्रा कामकारबाही गरेको छ, सो कुरा जनतासमक्ष जस्ताको त्यस्तै जानुपर्छ, नेता भण्डारीले जोड दिनुभएको थियो ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ता लगाएत जिल्लाका विभिन्न सन्चारमाध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।