२६ साउन (सल्यान )
सल्यानको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी अध्ययन तथा अवलोकन भ्रमणका लागि भारत जाने हुनु भएको छ ।
नेपाल नगरपालिका संघका सचिवालय सदस्य समेत रहनु भएका मेयर भण्डारी नगरस्तरीय दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी पाँचदिने भ्रमण कार्यक्रमका लागि भारत जान लाग्नु भएको हो।
दिसाजन्य लेदो व्यवस्थापन परियोजना अन्तर्गत एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियाको सहकार्यमा जनप्रतिनिधिको क्षमता विकास गर्ने उद्देश्यले अध्ययन तथा अवलोकन कार्यक्रम आयोजना गरिएको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले बताउनु भयो ।
दक्षिण एसियामा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रमा रहेको नीति, नियम, असल अभ्यास तथा स्रोत परिचालन लगायत विषयमा अध्ययन तथा अवलोकन कार्यक्रम आयोजना गरिएको हो ।
साउन २९ देखि भदौ १ गतेसम्म हुने उक्त कार्यक्रममा नेपालबाट १८ जना मेयर र तीन उपमेयर सहभागी हुनेछन् । कार्यक्रममा ललितपुर महानगरपालिका, धरान र बुटवल उपमहानगरपालिकाका मेयरको सहभागी हुने नेपाल नगरपालिका संघले जनाएको छ ।
संघका अनुसार, शारदा, हलेसी तुवाचुङ, साँगाचोकगढी, बेलबारी, हंशपुर, मध्यनेपाल, रेसुंगा, गुर्भाकोट र गोदावरी नगरपालिकाका मेयरले अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रममा सहभागिता जनाउनेछन् ।
मटिहानी, हरिवन, लम्किचुहा, बूढानीलकण्ठ, रामपुर र तारकेश्वर नगरपालिकाका मेयरसमेत सहभागी हुनेछन ।
यसैगरी, अध्ययन तथा अवलोकन भ्रमण कार्यक्रमका लागि भीमेश्वर, नीलकण्ठ र ठाकुरबाबा नगरपालिकाका उपमेयर भारतको हैदराबाद तिलङगना जाने भएका छ्न ।
नेपाल नगरपालिका संघको आयोजनामा युसीएलजी एएसपीएसीको सहकार्य र एन्फोको प्राविधिक सहयोगमा सातै प्रदेशका राजधानीका शहरमा दिसाजन्य लेदो व्यवस्थापन परियोजना सञ्चालित छ ।