२४ साउन २०८०/ सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाले शिक्षण सिकाई वडापत्र लागु गरेको छ ।
कक्षाकोठाको शिक्षण सिकाई क्रियाकलापदेखी समग्र विद्यालय क्षेत्रको शैक्षिक गतिविधि सुधार गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक गाउँपालिकाले शिक्षण सिकाई वडापत्र कार्यान्वयनमा ल्याइएको हो ।शिक्षण सिकाइमा सहजीकरण गर्ने, सबै विद्यालयको पठनपाठनमा एकरुपता ल्याउनको लागि र शैक्षिक क्षेत्रको उन्नती र विकासकालागि वडापत्र लागू गरिएको गाउँपालिकाले जनाएको छ।
छत्रेश्वरीको शिक्षा क्षेत्र योजनाअन्तर्गत तयार गरेर लागू भएको शिक्षण सिकाई वडापत्रले गाउँपालिकाभित्रका सबै विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाउने छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज वहादुर बुढाथोकीले बताउँनु भएको छ ।उहाले यो वडापत्रले शैक्षिक सुधारको बाताबरण तयार गर्ने र गाउँपालिकाको गुणस्तरीय शिक्षाको लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताउँनु भयो ।
यस्तै ‘एकाई योजना र पाठ योजनानिर्माण गरी शिक्षण सिकाईमा सहजिकरण गर्न पनि वडापत्रले शिक्षकलाई महत्वपूर्ण सहयोग पुर्याउने छत्रेश्वरी गाउँपालिका शिक्षा अधिकृत केशरबहादुर वलीले बताउनु भएको छ । उहाँले छत्रेश्वरी गाउँपालिकाका भित्रका ४० वटा बिधालय मध्य ३९ वटा विद्यालयमा शिक्षण सिकाई वडापत्र राखिएको बताउनु भयो ।’गाउँपालिकाको एउटा विद्यालयमा वालविकास केन्द्र मात्रै सञ्चालनमा रहेको छ ।
गाउँपालिका भित्र रहेका कक्षा १ देखी ५ सम्मका एकिकृत शिक्षक तथा कक्षा ६ देखि १० सम्मका विषयगत शिक्षकहरु सहित त्रैमासिक रुपमा शिक्षण सिकाई योजना बनाएर वडापत्र तयार गरिएको शिक्षाअधिकृत वलीले बताउनु भयो । बडापत्र अनुसार पठनपाठन भए नभएको बारे पालिका स्तरबाट नियमित रुपमाअनुगमन तथा सहजिकरण हुने समेत उहाँको भनाई छ ।