सल्यानको त्रिवेणी गाउँपालिकामा जग्गाको नाप,नक्साको कार्य थालनी

२१ साउन २०८०/ सल्यान

सल्यानमा जग्गाको नाप नक्साको कार्य थालनी गरिएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलो पटक एक कार्यक्रमका बिच जग्गा नाप नक्साको कार्य थालनी गरेको हो ।

गाउँपालिका भित्र रहेका भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको लागी जग्गाको नाप नक्साको कार्य थालनी गरिएको त्रिवेणी गाउँपालिका सल्यानले जनाएको छ ।

आइतबार उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावले जग्गाको अभावमा जिविका धान्न गार्‍हो भएका गाउँपालिका वासीहरुको लागी सहजता थपिएको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले अव्यवस्थित बसोबास गर्ने नागरिकले दृर्घकालिन रुपमा समेत व्यवस्थित बसोबास गर्न पाउने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले भुमिहिन नागरिक लाई लालपुर्जा दिलाउन र अव्यवस्थित बसोबास गरिरहेकालाई व्यवस्थित गराउन आफुहरु लागी परेको बताउनु भयो ।कार्यक्रमका अध्यक्ष समेत रहेका रावतले गाउँपालिका भित्रका भुमीहिन नागरिक लाई जग्गाको लालपुर्जा दिएर मालिक गराउन चाहेको बताउनु भयो ।उहाँले अव्यवस्थित बसोबास गरिहरेकालाई व्यवस्थित गर्नको लागी नाप नक्साको कार्यमा सहयोग गरी बास्तबिक भूमिहिनलाई जग्गा दिलाउन सहयोग गर्न सवैमा अनुरोध गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजुवालले भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई प्राथमिकता राखेर आफुहरुले काम गरिरहेको बताउनु छ । उहाँले नाप नक्साको कार्य समयमै सम्पन्न गरेर,दशै सम्म सम्बन्धित ब्यक्तिहरुलाई लालपूर्जा बितरण गरिने पनि बताउनु भयो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, अतिथिहरु राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बिर बहादुर सेजुवाल, त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सिता खड्का(पुन)निवर्तमान उपाध्यक्ष करुणा खड्का,नापि कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय,
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभात कुमार श्रेष्ठ लगाएत वडा अध्यक्ष,वडा सदस्य,राजनीतिक दलका प्रमुख प्रतिनिधि लगाएत सर्वसाधारणको सहभागिता रहेको थियो ।

त्रिवेणी गाउँपालिका भित्र १७ घरपरिवार भुमिहिन दलित,१२ घरपरिवार भुमिहिन सुकुम्बासी र १ हजार ६८ जना अव्यवस्थित बसोबास गर्ने नागरिक रहेको,राष्ट्रिय भूमि आयोग त्रिवेणी गाउँपालिका सेवा केन्द्रका प्रमुख सरोज बोहराले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस