अतिरिक्त हुलाक कर्मचारी आन्दोलनमा

५ असार २०८०/ सल्यान 

सल्यानमा हुलाकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छ्न।

सरकारले आगामी साउन १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि जिल्लामा हुलाकका कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।

सरकारको निर्णयले लामो समयसम्म गरेको सेवाको मूल्यांकन बिना काम छाड्नु परेको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । हुलाकका कर्मचारीहरुले मंगलवार जिल्लाको सदरमुकाम खलंगामा र्‍याली निकालेर सरकारको निर्णयको विरोध गरेका छन्

नेपाल अतिरिक्त हुलाक जिल्ला कार्यसमिती सल्यानका अध्यक्ष हिम बहादुर चन्दले आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अनवरत संघर्ष गरेको योगदानलाई सरकारले कतै कदर नगरेको बताउनुभयो । बिनाविकल्प कर्मचारीलाई सेवामुक्त गर्नु अन्याय भएको भन्दै आफुहरु आन्दोलनमा उत्रनु परेको उहाँको भनाइ छ ।

‘हुलाक हटाउन पाइदैन, यस्तो सरकार चाहिदैन्’ ‘हुलाक सेवा बिस्तार गर, सेवासुबिधाको ग्यारेन्टी गर’ ‘हुलाकी मार्न पाइदैन्, निश्चित ज्यालाको ब्यवस्था गर’ लगाएतका नारा लगाउदैँ उनीहरुले सदरमुकाम खलंगामा र्‍याली निकालेका हुन् । नेपाल अतिरिक्त हुलाक जिल्ला कार्यसमिती सल्यानको अगुवाईमा सदरमुकाममा भेला भएका कर्मचारीहरुले जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदैँ विरोध जनाएका हुन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी देशभरका अतिरिक्त हुलाक खारेज गर्ने जनाएको हो । यस निर्णयसँगै सल्यानमा रहेका ३७ वटा अतिरिक्त हुलाक कार्यालय खारेजी हुने छन् । अतिरिक्त हुलाक खारेज हुँदा सल्यानमा कार्यरत १ सय ३३ कर्मचारी रित्तो हात घर फर्कनु पर्नेछ । हुलाक सेवालाई प्रविधिसँग जोडेर सेवा प्रवाह गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस