सल्यानमा पहिलो पटक युवा सम्मेलन हुँदै

०२ जेठ २०८०/सल्यान 

सल्यानमा पहिलो पटक युवा सम्मेलन हुने भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नं.१ श्रीनगरमा यही जेठ ५ र ६ गते हुने युवा सम्मेलनको पुर्ण तयारी भैसकेको समृद्ध सल्यान अभियानका अभियान्ता धुर्वराज वलीले बताउनु भएको छ ।

राष्ट्रिय युवा परिषद् र सल्यान दृष्टिकोणको समन्वय तथा परिणाम नेपालको आयोजनामा हुने युवा सम्मेलनका बिषयमा मंगलवार जिल्लाको सदरमुकाम खलंगामा भएको पत्रकार सम्मेलनमा बोल्दै अभियानका अभियान्ता धुर्वराज वलीले जिल्लाका दश वटै पालिकाबाट कम्तिमा दश/दश जना युवायुवतिको सहभागितामा युवा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । सम्मेलनको लागि आवश्यक तयारी भैरहेको उहाँको भनाइ छ ।

परिणाम नेपालका संयोजक युवराज खड्काले राष्ट्रिय युवा नीति २०७२ अनुसारको उमेर समुहका युवाहरुको नेतृत्व तथा क्षमता विकासका लागि युवा सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले युथ भिजन २०२५ अनुसारका आधारस्तम्भमा आधारित कृषि, युवा उद्यमशिलता, सुचना प्रविधिबारे कानुनी तथा नीतिगत विषयमा विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय युवा नीति तथा युवा नीतिले अख्तियारी गरेका विषयबस्तुबारे युवासँग युवा परिषद जोड्ने, जिल्लाका दशवटै स्थनीय तहका युवाहरुका सवाल स्थानीय सरकारका प्रतिनिधिसँग जोड्ने, शिक्षा र सरोकारका विषयमा प्यानल छलफल गरिने उहाँको भनाई छ । आविस्कारक महाविर पुन, सागर ढकाल, पुरुषोत्तम गिरी, प्रकाश सिग्देल, प्रकाश शर्मा लगाएतका व्यक्तित्वहरु प्रशिक्षकका रुपमा रहनुहुने छ ।

प्रतिक्रिया दिनुहोस