०१ चैत्र २०७९/सल्यान
आज विश्व उपभोक्ता अधिकार दिवस,दिवसको अवसरमा सल्यानको एक स्थानीय तहले बजार अनुगमन गरेको छ ।

दिवसको अवसरमा जिल्लाको कालिमाटी गाउँपालिकाले कालिमाटीमा बजार अनुगमन गरेको हो ।
कालिमाटी गाउँपालिका स्तरीय अनुगमन टोलीले स्थानिय बजारहरु दानेगौडा, टाट्के, घुम्ती, ढोरेनी, पुतलिबजार लगायतका क्षेत्रमा बुधबार विहान अनुगमन गरेको हो । वडा नम्बर २ र ३ का २९ बढि पसलको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनको क्रममा विभिन्न पसल तथा व्यवसाय दर्ता, नविकरण विना नै संचालन भएको, मूल्य सुची नराखेको पाइएको थियो । यस्तै बिल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामाग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाइएको थियो । अनुगमन टोलिले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव दिएको अनुगमन टोलिका संयोजक गोरख बहादुर थापाले बताउनु भएको छ । अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको उहाँले बताउनु भयो ।
उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनमा गाउँपालिकाका उपभोक्ता हित संरक्षण समितिका संयोजक इन्द्र बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल सहित सम्बन्धित शाखा कार्यालयका प्रमुख, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।