बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बजार अनुगमन

०१ चैत्र २०७९/सल्यान

आज विश्व उपभोक्ता अधिकार दिवस,दिवसको अवसरमा सल्यानको एक स्थानीय तहले बजार अनुगमन गरेको छ ।


दिवसको अवसरमा जिल्लाको कालिमाटी गाउँपालिकाले कालिमाटीमा बजार अनुगमन गरेको हो ।

कालिमाटी गाउँपालिका स्तरीय अनुगमन टोलीले स्थानिय बजारहरु दानेगौडा, टाट्के, घुम्ती, ढोरेनी, पुतलिबजार लगायतका क्षेत्रमा बुधबार विहान अनुगमन गरेको हो । वडा नम्बर २ र ३ का २९ बढि पसलको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा विभिन्न पसल तथा व्यवसाय दर्ता, नविकरण विना नै संचालन भएको, मूल्य सुची नराखेको पाइएको थियो । यस्तै बिल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामाग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाइएको थियो । अनुगमन टोलिले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव दिएको अनुगमन टोलिका संयोजक गोरख बहादुर थापाले बताउनु भएको छ । अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको उहाँले बताउनु भयो ।उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनमा गाउँपालिकाका उपभोक्ता हित संरक्षण समितिका संयोजक इन्द्र बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल सहित सम्बन्धित शाखा कार्यालयका प्रमुख, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस