०३ पौष २०७९
सल्यानको शिद्वकुमाख गाउँपालिकाका इन्जिनियर विवेक मान बस्नेत माथी कुटपिट भएको भन्दै दोषीलाई कार्वाही गर्न माग गर्दै गाउँपालिकाले बिज्ञप्ती सार्वजनिक गरेको छ ।
शनिबार गाउँपालिकाका इन्जिनियर बस्नेत माथी कुटपिटका साथै दुर्व्यवहार भएको भन्दै, निष्पक्ष तरिकाले काम गर्दै आएका राष्ट्रसेवक कर्मचारीहरुको शान्ती सुरक्षाको माग सहित दोषीलाई कार्वाही गर्न सम्बन्धित निकाय संघ अनुरोध सहितको बिज्ञप्ती गाउँपालिकाले सार्वजनिक गरेको हो ।
शिद्वकुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओली द्वारा हस्ताक्षरित बिज्ञप्तीमा शिद्व कुमाख गाउँपालिका वडा नं.२ को निर्माणाधीन वडा कार्यालयको भवन ढलान अवलोकन गर्न गाउँपालिकाका अध्यक्ष भरत गीरी लगाएतको टोलीलाई बोलाएको र गाउँपालिका अध्यक्ष काम विशेषले कार्यालय बाहिर गएको सन्दर्भमा गाउँपालिका इन्जिनियर र वडा प्राविधिक सहितको टोली वडा कार्यालयमा पुग्दा भवन ढलानको काम मापदण्ड विपरीत भैरहेको र गाउँपालिका इन्जिनियर बस्नेतले मापदण्ड अनुसार काम गर्न अनुरोध गर्दा,सोही भवनका ठेकेदार डम्बर तिरुवाका छोरा अन्दाजी ३० बर्षिय संजय कुमार तिरुवाले गाउँपालिकाका इन्जिनियर बस्नेत माथी कुटपिटका साथै दुर्व्यवहार गरेको उल्लेख गरिएको छ ।
उक्त बिज्ञप्तीमा शनिबार भएको अमर्यादित,अभद्र र अपराधिक कुटपिटको घटनाले कर्मचारी त्रसित हुनुका साथै गाउँपालिकामा यस्ता घटना पहिले देखि घटदै आएकाले दोषीलाई कार्वाही नहुदा सम्म शिद्व कुमाख गाउँ कार्यपालिकाको कार्यालय र सोही मातहतका सम्पुर्ण कार्यालय बाट प्रवाह हुँदै आएका सेवाहरु स्थगित गरिएको कुरा उल्लेख गरिएको छ ।