पौष १३ देखि २३ गते सम्म सल्यानको श्रीनगरमा महोत्सव लाग्ने

०२ पौष २०७९/ बिमला बस्नेत                                     सल्यानको श्रीनगरमा दस दिन सम्म महोत्सव लाग्ने भएको छ ।


उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्‍यौ , मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने नाराका साथ पौष १३ देखि २३ गते सम्म बृहत सल्यान लघु घरेलु उधोग,कृषि पशु पर्यटन तथा साँस्कृतिक महोत्सव लाग्ने भएको हो ।

दस दिन सम्म सञ्चालन हुने महोत्सवको लागि आवश्यक तयारी थालिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिनु भएको छ । शनिवार श्रीनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय तह संगै जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेर महोत्सव सञ्चालनको तयारीमा आफुहरु रहेको बताउनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा हुन लागेको महोत्सवमा स्थानिय उत्पादनको वजारीकरण गर्ने लक्ष्य रहेको र महोत्सवमा दुई सय देखी दुई सय ५० सम्म स्टल रहने अध्यक्ष डाँगीले बताउनु भएको हो ।उहाँले
महोत्सवमा कर्णाली प्रदेशका दश वटै जिल्लाको लघु घरेलु, कृषि, पशु, पर्यटनसँग सम्बन्धित उत्पादनलाई राखिने,‘लघु घरेलु उद्योग अन्तर्गत उत्पादन भएका उत्पादनलाई स्टलमा राख्ने र स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवस्थापन, वजारीकरण लगाएतका कार्यमा सहयोग गर्ने अपेक्षा रहेको बताउनु भयो ।

महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुने आयोजकको भनाइ छ । जसमा महोत्सव अवधिभर एक करोड ५० लाख बढीको कारोवार हुने जनाइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुति रहने छ भने बाल उद्यान, पिङ, लगाएतका रहने छन् । महोत्सव अवधिभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको भनाइ छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको भवन निर्माणका लागि संचालन गर्न लागीएको महोत्सवका लागि प्रवेश शुल्क प्रती ब्यक्ति १ सय लाग्ने आयोजक संस्थाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस