१० असोज २०७९ हिन्दु नेपालीहरूको प्रमुख चाड बडा दसैंको आज पहिलो दिन ।आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं १५ दिन (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ ।
नवरात्र सुरु भएसँगै विभिन्न देवालयहरूमा दर्शनार्थीको भीड देखिन थालेको छ । सल्यानको खैरावाङ्ग भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको भीड बढ्न थालेको हो ।
दुर्गाको प्रतिकका रूपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नव कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । दसैँको सातौं दिन धार्मिक विधि अनुसार फूलपाति भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गरिन्छ ।
दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकको रूपमासमेत मनाउने गरिन्छ ।