१४ भदौ २०७९
आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।
आजको दिन व्रत बसी शिव(पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका साथ हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव(पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् ।
दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।