२५ साउन २०७९
सल्यानमा एक आर्थिक बर्षमा जडिबुटी निकासी बाट साढे १८ लाख बढी राजस्व संकलन भएको छ ।
डिभिजन बन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १८ लाख ५५ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
टिमुर, रिट्ठा, तेज पात, दालचिनीको बोक्रा, घोडताप्रे, काउलोको बोक्रा, चुत्रोको बोक्रा लगायतका जडीबुटी बाट उक्त राजस्व संकलन गरिएको डिभिजन बन कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको ३ लाख ७३ हजार २ सय ६२ किलो विभिन्न १० प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानका विजय पुलामी मगरले जानकारी दिएका छन् ।
पुलामी मगरका अनुसार निजी आबादीबाट पनि ३ लाख २१ हजार ८ सय २४ किलो जडीबुटी निकासी भएको र आबादीबाट जडीबुटी निकासीमा राजस्व नलाग्ने र राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको जडीबुटीको मात्र राजस्व संकलन हुने बताए । कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि पछिल्लो समयमा जिल्लामा कृषकहरू व्यावसायिक जडीबुटी खेतीमा आकर्षित हुँदै आइरहेका छन् । टिमुर, रिट्ठा, तेज पात लगायतका जडीबुटीका लागि जिल्लाको हावापानी अनुकूल भएकाले पनि कृषकहरू यस प्रति बढी आकर्षित भएको कार्यालयले जनाएको छ ।