३ साउन २०७९ सल्यान दाङ सल्यान सिमानाको चोरखोलामा खसेको पहिरो कारण राप्ती राजमार्ग अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण गए राति राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सिमानाको चोरखोलामा पहिरो संगै माथी बाट सडकमा खसेको ठूलो ढुङ्गाले सडक पुर्णरुपमा अबरुद्ध भएको हो ।
पहिरोका कारण दाङ सल्यान सडक खण्डको यातायात सेवा प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।अहिले सडकबाट ढुंगा हटाउन तयारी गरिएको र आवश्यक मेसिन नहुँदा कठिनाइ भइरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले बताए । उनका अनुसार सडकबाट ढुंगा हटाउनलाई स्काभेटर चाहिरएको र स्काभेटर ल्याउने तयारी गरिएको छ ।
उक्त सडक खुलाउन सुरक्षाकर्मी पनि प्रत्यक्ष स्थलमा रहेको र सबैतिर पहल भैरहेको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताएका छन् ।