प्रदेश राजधानी सुर्खेत देखि रामपुर,कालिमाटी काभ्रा,लुहाम हुँदै खलंगा जोड्ने सडकको उद्घाटन

१३ चैत /बिमला बस्नेत

सल्यानको लुहाम,काभ्रा,कालिमाटी हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने मोटर बाटोको उद्घाटन गरिएको छ ।

२०५० सालमा ट्र्याक खोलीएको उक्त मोटर बाटोको निर्माण सम्पन्न संगै उद्घाटन गरिएको हो ।                                            आइतबार उक्त मोटरबाटोको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले विकास निर्माणमा राजनीति गर्नु समाजलाई पछि धकेल्नु भएको बताएका छन्। मुलुकको आर्थिक सामाजिक विकासमा कोही कसैले पनि राजनीति गर्न नहुने भन्दै महासचिव ज्वालाले सबै मिलेर विकासमा लाग्न सके मात्र उक्त विकास दिगो र प्रभावकारी हुने बताएका छन् ।

कर्णाली प्रदेशमा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले सल्यान जिल्लाको मेरुदण्डको रुपमा रहेको उक्त बाटोको उद्घाटनले जिल्लाको आए स्रोतमा वृद्धि हुने बताएका हुन ।उनले विकास निर्माणमा यो मेरो त्यो तेरो नभनी सबैले सामूहिक रुपमा योगदान गर्न सके राष्ट्रको विकास तीब्र गतिमा हुने बताएका छन् ।

मोटर बाटो उद्घाटन कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले उक्त बाटो निर्माणले सल्यानका धेरै भुभागका मानिसलाई सुबिधा पुग्ने बताए ।उनले लुहाम काभ्रा, कालीमाटी सडक पश्चिम दक्षिण क्षेत्र र समग्रमा सल्यानकै प्रमुख मेरुदण्ड भएको बताए । प्रदेश राजधानी जोड्ने छोटो सडक सञ्जालको रुपमा यो सडक रहेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता भिम प्रकाश शर्माले विगत जिल्ला विकास समिति हुँदा जिल्लाका प्रमुख सडकको रुपमा तीन सडकलाई प्राथमिकतामा राखेको र उक्त प्राथमिकतालाई प्रदेश सरकारले पनि पहिलो प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएको बताएका छन् । कर्णाली प्रदेश मुख्यमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार समेत रहेका शर्माले विगतको सर्वदलीय समितिले खलङ्गा कुपिण्डे सल्लीबजार, लुहाम, काभ्रा कालीमाटी सडक र थारमारे,चौरपानी चौरजहारी सडकलाई प्राथमिकता दिएको स्मरण गर्दै आज आएर प्रदेश सरकारले ती तीन वटै सडकलाई स्तरोन्नति गरी रहेको बताए ।
कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले प्रदेश राजधानी जोड्ने सडकको दुर्त गतिमा विकास हुनु पर्नेमा जोड दिएका छन् ।उक्त सडकको स्तर उन्नतिले जिल्ला बासीको आर्थिक अवस्थामा समेत परिवर्तन ल्याउने बताएका हुन ।

तोकिएकै समय सिमाभित्र प्रभावकारी ढंगले सडको काम सम्पन्न भएको पुर्वाधार बिकास कार्यालय सल्यानका प्रमुख बिनोद पुनले बताए । उनले उक्त सडकको स्तर वृद्धिका लागि समेत सम्बन्धित निकायहरु संग सहकार्य गर्ने बताएका हुन ।

शिलान्यास भएको झन्डै २८ वर्ष पछि सडक सुचारु हुँदा स्थानीय बासीबासीहरुमा खुसी छाएको छ । निर्माण ब्यवसायी धिरज रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन ब्यवसायी डिल्ली केसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस