सल्यानको त्रिबेणी गाउँपालिकाद्वारा कृषकहरुलाइ बोका बितरण

रमिला मैनाली/ ८ माघ, सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले १० जना बाख्रा पालक कृर्षकलाई बोयर जातका बोका बितरण गरेको छ ।

बोका तथा बाख्राको उत्पादन बढाउनका लागि गाउँपालिकाले बोयर जातको बोका वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा गाउँपालिका भित्रका १० जना बाख्रापालक कृषकहरुलाई बोयर जातका बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शुक्रवार कृषकहरुलाई बोका हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी र उपाध्यक्ष करुणा खड्काले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा प्रोत्साहन गर्नको लागि बोका वितरण गरिएको बताएका छन् । उनिहरुले आगामी दिनमा यस्ता खाले कार्यक्रमलाई निरंतरता दिने बताएका हुन ।

गाउँपालिकाको २ लाख रुपैँया वजेट र कृषकको २ लाख रुपैँया गरेर ४ लाख रुपैँयामा १० वटा बोका खरिद गरेर वितरण गरेको हो ।
‘त्रिबेणी गाउँपालिका बाख्रापालनको लागि राम्रो सम्भावना बोकेको पालिका भएको र ,कृषकको जीवननिर्वाहका लागि मात्रै बाख्रापालन गर्दै आएका कृषकहरु पनि अहिले व्यवसायिक बन्दै गएकाले उनिहरुको आयआर्जन बढाउन र ‘कृषक प्रोत्साहनको लागि यो कार्य प्रभावकार भएकाले बोका बितरण गरिएको हो ।

बोका पाउने कृषकहरुमा त्रिबेणी गाउँपालिका १ का बल बहादुर रोका, सितली बुढाथोकी, रुपलाल थापा, वडा नम्बर २ का जित बहादुर घर्ती, वडा नम्बर ३ का कल्पना राना, यामा योगी, दिपक बोहरा, वडा नम्बर ५ का भावना बोहरा, फौज बहादुर गिरी र लिलमति गिरी रहेका छन् । बोका पाएपछि कृषकहरु खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस