३ माघ २०७८
लेखापाल कुटपिट गरेको भन्दै सल्यान बागचौर नगरपालिकाले एक बिज्ञप्ती सार्वजनिक गरेको छ ।
आइतबार कार्यालयको कामको शिलशिलामा बागचौर नगरपालिका वडा नं.७ मा पुगेका बागचौर नगरपालिकाका लेखापाल प्रदीप डिसी माथी दुर्व्यवहार र कुटपिट भएको भन्दै सम्बन्धित निकायलाई कार्वाहीको लागी ध्यानाकर्षण गर्न नगरले प्रेस बिज्ञप्ती सार्वजनिक गरेको हो ।
सोमबार नगरपालिकाले जारी गरेको बिज्ञप्तीमा मिति २०७८ माघ २ गते अपरान्ह साढे चार वजे कार्यालयको कामको शिलशिलामा मोटरसाइकलमा हिन्दै गरेका लेखापाल डिसी लाई बिचबाटोमै रोकेर नगरको वडा नं.७ टाट्केबजार नजिकै सोही वडाका २५ बर्षिय टिकाराम वलीले दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । वलीले लेखापाल डिसी चढेको मोटरसाइकल र अन्य निजी सामानमा समेत क्षति पुर्याएको भन्दै गम्भीर ध्यानाकर्षण भएको नगरले जनाएको छ ।
बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिवहादुर कठायत द्वारा हस्ताक्षरित बिज्ञप्तीमा,कर्तव्य पालनाको सिलसिलामा एक राष्ट्रसेवक कर्मचारी माथी भएको घृणित र कायरतापुर्ण हर्कतको घोर भत्सर्ना गर्दै घटनामा संलग्न दोषी उपर कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गरिएको छ ।