१६ कार्तिक २०७८ / सन्तोष भण्डारी
सल्यानको थारमारेमा सल्यान साहित्य महोत्सव सुरु भएको छ ।
पुरातात्त्विक संरचनाको खोजी र साहित्यिक सिर्जना, अग्रज स्रष्टाको सम्मान र अनुजको जगेर्ना भन्ने मूल नारा सहित राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले सल्यान जिल्ला साहित्य सृजनाको उर्वर भुमि रहेको बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगरपालिकाले साहित्यक साहित्यिक महोत्सव तथा श्रस्टा सम्मानका लागी बजेट बिनियोजन गरेको र आगामी दिनमा बृहत रुपमा कार्यक्रम आयोजना गर्ने बताएका छन् ।
दुई सम्म संचालन गरिने महोत्सवको पहिलो दिनमा सल्यानमा जन्मिएर विभिन्न ठाउँमा कर्मथलो बनाई सिङ्गो साहित्यलाई माथि उठाउन विभिन्न तवरले सहयोग पुर्याउने २८ जना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको छ । सम्मानित हुने श्रष्टाहरुमा डा. अमर शाह, उषा हमाल, एकराज भण्डारी, कमलमणि देवकोटा, केशवराज देवकोटा, डा. कृष्णराज डि.सी., खर्क बहादुर बुढा, छविकिरण वली,जित बहादुर शाह, दामोदर बटुवा, दीपक शर्मा समीर, देवराज आचार्य, नयनराज पाण्डे, नेत्रलाल श्रेष्ठ रहेका छन् । यस्तै महोत्सवमा डा. पूर्ण भण्डारी पङ्कज, प्रतीक इच्छुक शर्मा, प्रेम राना, डा. प्रेम योगी, विष्णु शर्मा, डा. मधुसूदन लामिछाने, मनोहर लामिछाने, मोहलाल चन्द, मौसमदास श्रेष्ठ, योगेन्द्र कञ्चन, रमेश क्षितिज र समीर शाह लाई पनि सम्मान गरिएको हो ।
महोत्सवको दोस्रो दिन कार्तिक १७ गते कवि उषा हमाल, डा. कृष्णराज डि.सी. रमेश क्षितिज, दीपक शर्मा समीर, सुदे सत्याल, रिमा के.सी. यस्तै गजलकार प्रदीप रोदन, भावना लामिछाने, प्रमोद थापा, इन्दिरा अधिकारी साथै मुक्तककार सन्तोष अम्गाई र महावीर विश्वकर्माको प्रस्तुत रहने महोत्सव आयोजक राप्ती साहित्य परिषद् सल्यानले जनाएको छ ।