१३ कार्तिक २०७८
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सल्यानले जिल्ला पाटी कार्यालय स्थापना गरेको छ ।
शुक्रवार जिल्लाको सदरमुकाम खलंगामा पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले एकलौटी, स्वेच्छाचारी र प्रतिगामी कदम चालेको भन्दै नेता माधव कुमार नेपालले नयाँ पार्टी निर्माण गरेपछि सल्यानमा पनि पार्टी कार्यालय स्थापना गरिएको बताएका छन्।
पार्टीका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका ज्वालाले अहिलेको गठबन्धन आगामी चुनावसम्म नै मिलेर जाने र ‘विचार मिल्न सक्ने शक्तिहरुसँग मिलेरै चुनावमा जाने समेत बताएका हुन। उनले त्यसमा पनि आफुहरु वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग चुनावमा तालमेल गरेर जाने बताए।
जिल्लाको सदरमुकाम खलंगा स्थित पुरानो बसपार्क नजिकैँको एक घर भाडामा लिएर पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टीको कार्यालय स्थापना सँगै अब भने पार्टीका हरेक गतिविधि पार्टी कार्यालयबाट नै सञ्चालन गरिने जनाइएको छ । यसले पार्टीको संगठन निर्माण, पार्टीका आन्तरिक गतिविधिलाई अगाडी बढाउन सहज हुने पार्टीले जनाएको छ ।