बागचौर नगरपालिकाले राजस्व सम्बन्धि काम अनलाइन सिस्टम बाट गर्दै

११ भाद्र २०७८ /बिमला बस्नेत

सल्यानको बागचौर नगरपालिकाले राजस्व सम्बन्धि सम्पुर्ण काम अनलाइन सिस्टम बाट गर्ने भएको छ ।

जनताका काम छिटो छरितो पारदर्शिता प्रभावकारी र सुरक्षित तरिकाले राख्नको लागि उक्त काम थालिएको बागचौर नगरपालिकाले जनाएको छ । बिहिवार भएको राजस्व सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमालले नगरपालिकाले संचालन गर्न लागेको राजस्व सम्बन्धी को काम अनलाइन  सिस्टम बाट गर्दा व्यवस्थित र मर्यादित हुने बताएका छन् । बागचौर नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ बाट राजस्वका सम्पुर्ण कामहरु अनलाइन सिस्टम बाट गर्ने हमालले बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हमालले अनलाइन सिस्टम बाट राजस्वको काम गर्दा राजस्व तिरेको अभिलेखहरु सुरक्षित हुने र कार्यालयमा आगलागी लगायतका भौतिक क्षति भएको खण्डमा समेत अभिलेखहरू अनलाइन सिस्टममा रहने हुँदा सुरक्षाका हिसाबले उक्त काम उपयुक्त भएको बताएका छन् ।

 

उनले अभिमुखीकरण कार्यक्रममा सहभागी १२ वटै वडाका वडा सचीवहरुलाई कामलाई प्रभावकारी ढंग बाट अगाडि बढाउन समेत निर्देशन दिएका छन् । १ दिने अभिमुखिकरण कार्यक्रमको सहजीकरण तथा प्रशिक्षण नगरपालिकाका सूचना प्रविधि अधिकृत तीर्थराज डाँगी र नगरपालिकाका राजस्व शाखा प्रमुख हेमन्त प्रकाश बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस